
काठमाडौं ।
नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य सेवा दिने कार्य शुरु गरिएको छ।
६५ औं प्रहरी दिवस २०७७ को उपलक्ष्यमा सञ्चालनमा ल्याइएको उक्त सेवाको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
आईजीपी क्षेत्रीले सेवाको निरीक्षण समेत गरेका थिए। सो अवसरमा आईजीपी क्षेत्रीले टेलिमेडिसिन सेवा अहिलेको परिवेशमा निकै सन्दर्भिक रहेको तथा दूर दराजमा भएका प्रहरी कर्मचारीहरुले अस्पतालको सेवा प्राप्त गरी लाभान्वित हुने उल्लेख गरे ।
प्रारम्भमा परामर्शको सेवा प्रदान गर्ने रुपमा संचालन हुने टेलिमेडिसिन सेवालाई आगामी दिनमा थप परिस्कृत गरेर औषधी पनि वितरण गर्न सक्ने प्रणालीमा विकास गर्न सकेमा प्रहरी कर्मचारीहरु अझ बढी लाभान्वित हुने उल्लेख गर्दै आईजीपी क्षेत्रीले त्यसतर्फ अस्पताल प्रशासन अगाडि बढ्ने विश्चास व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले टेलिमेडिसिन सेवाबारे प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ई-हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिनलगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गर्ने ब्यवस्था भए अनुरुप सेवा संचालन गरिएको जानकारी दिइन् ।
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार