भन्सार छली मोबाइल र एसेसरिजको कारोबार गर्ने व्यवसायी विरुद्ध विदेशी मुद्रा अपचलनको मुद्धा

  • Technology Khabar | २९ आश्विन २०७७, बिहीबार
भन्सार छली मोबाइल र एसेसरिजको कारोबार गर्ने व्यवसायी विरुद्ध विदेशी मुद्रा अपचलनको मुद्धा
सांकेतिक

काठमाडौं ।

भन्सार चोरी पैठारी गरेर मोबाइल र एसेसरिजलगायतका सामाग्रीहरुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।

उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी लिई बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्समार्फत विदेशमा निर्मित मोबाइल, मेमोरी कार्डलगायत माल वस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

कानुनअनुसार माल वस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा माल वस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी र पैठारी गर्नुपर्ने व्यवस्था रहेको छ । यस्ता मालवस्तु तेश्रो मुलुकबाट ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन सकिँदैन ।

ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी रुपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागले जनाएको छ । विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८९२० र दफा ९(ग) बमोजिम कसूर गरेकाले मुद्दा चलाइएको मैनालीले जानकारी दिए ।

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार