१५ प्रतिशत विद्यार्थीमा मात्रै इन्टरनेटको पहुँच

  • Technology Khabar | १८ आश्विन २०७७, आईतवार
१५ प्रतिशत विद्यार्थीमा मात्रै इन्टरनेटको पहुँच

काठमाडौं ।

भर्च्यूअल विधिबाट विद्यार्थीलाई कक्षा सञ्चालन गर्ने भनिए पनि भरतपुर महानगर क्षेत्रमै करिब १५ प्रतिशत विद्यार्थीमा मात्रै इन्टरनेटको पहुँच रहेको एक अध्ययनले जनाएको छ।

महानगरले सामुदायिक विद्यालयहरूमा गरेको अध्ययनमा १४.८ प्रतिशत विद्यार्थी मात्र इन्टरनेटको पहुँच रहेको पाइएको महानगरका नगर शिक्षा अधिकारी महेन्द्रपसाद पौडेलले बताए ।

महानगरभित्र रहेका १२३ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४० हजार पाँच सय विद्यार्थीमध्ये २४ हजार ६१६ विद्यार्थी अध्ययनमा सहभागी थिए । महानगरको अध्ययनअनुसार तीमध्ये इन्टरनेटको पहुँच भएका विद्यार्थीहरू तीन हजार ४८६ जना मात्रै छन् ।

यस्तै रेडियो, टीभी र इन्टरनेटको पहुँच नभएका १९.१२ अर्थात् चार हजार ७०९ जना, रेडियो एफएमका पहुँच भएका २२.५९ प्रतिशत अर्थात् पाँच हजार ५६१ जना, टेलिभिजनको मात्रै पहुँच भएका ३७.२१ प्रतिशत अर्थात् नौ हजार १६१ जना र घरमै कम्प्युटर भएका ६.७९ प्रतिशत अर्थात् एक हजार ११७ जना रहेको तथ्याङ्क छ ।

महानगरका नगर शिक्षा अधिकारी पौडेल महानगरभित्रै भच्र्यूअल शिक्षा प्रभावकारी नहुने भएपछि विद्यालयहरूले प्रत्यक्ष सम्पर्क विधिवाटै कक्षा सञ्चालन गरिरहेको जानकारी दिए ।

“कोरोना जोखिमबीच विद्यालयमै सिकाइ सहजीकरण केन्द्रहरू सञ्चालन गरी विद्यार्थीलाई प्रत्यक्ष साक्षात्कार विधिबाटै अध्यापन गराइएको छ”, उनले भने ।

१२३ सामुदायिक र ९७ सं‚थागत गरी भरतपुर महानगरभित्र दुई सय विद्यालयमा झण्डै ७२ हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहे पनि प्रायः विद्यालयले सिकाइ केन्द्रहरू बनाएर पढाइरहेका छन् ।

भरतपुर—१, देवघाटमा रहेको सीताराम संस्कृत माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मिलन घिमिरे दैनिक तीनवटा कक्षाका विद्यार्थीलाई पालैपालो विद्यालयमा बोलाएर पढाइरहेको बताउँछन् ।

यसैबीच भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूमा दशैँ बिदा पाँच दिनमात्रै दिने निर्णय गरेको छ ।आजको गोरखापत्रबाट

प्रकाशित: १८ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार