इन्टरनेट बैंकिङ्ग कारोबार रकम एक महिनामै १६ अर्ब रुपैयाँले घट्यो, कारोबार संख्यामा पनि कमी

  • Technology Khabar | १० आश्विन २०७७, शनिबार

काठमाडौं ।

इन्टरनेट बैंकिङ्गको कारोबार र कारोबार रकम चालु आर्थिक वर्ष २०७७/०७८को पहिलो महिनामा ह्वात्तै घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वित्तीय तथ्यांकअनुसार साउन महिनामा कारोबार संख्या र रकममा उल्लेख्य कमी आएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा इन्टरनेट बैंकिङ्गको कारोबार संख्या २ लाख ५ हजार ७३५ मात्र रहेको छ, जबकी यस्तो संख्या अघिल्लो आर्थिक वर्षको असार महिनामा ६ लाख ५३ हजार ४५९ रहेको थियो ।

तथ्यांकअनुसार कारोबार संख्यामा कमी आएसँगै कारोबार रकममा पनि उल्लेख्य कमी देखिएको छ ।

राष्ट्र बैंककाअनुसार साउन महिनामा कारोबार रकम घटेर ३ अर्ब ८ करोड २० लाख रुपैयाँमा झरेको छ । जबकी एक महिना अघि असार महिनामा यस्तो कारोबार रकम १९ अर्ब ४ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

एक महिनाको अवधिमा नै इन्टरनेट बैंकिङ्ग कारोबार रकममा करिब १६ अर्ब रुपैयाँले कमी देखिएको छ भने कारोबार संख्यामा पनि ४ लाख ४७ हजार ७२४ ले कमी आएको छ ।

प्रकाशित: १० आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार