टेलिकमले बागलुङमा झुण्डिएका टेलिफोन र इन्टरनेट तार निकाल्दै, पोल भाडा नदिनेको पनि हटाउने

Technology Khabar ९ आश्विन २०७७, शुक्रबार

काठमाडौं ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले शहर भरीका पोलमा यत्रतत्र झुण्डिएका टेलिफोन तथा इन्टरनेटका तारलाई निकाल्ने (डिस्मेन्टल) तथा व्यवस्थित गर्दै स्वच्छ र सफा शहर बनाउने अभियान सूचारु गरेको छ।

धौलागिरि अञ्चलको चारवटै जिल्ला सदरमुकाममा एकसाथ सूचारु गरिएको उक्त अभियान अन्तर्गत शहरी क्षेत्रको सुन्दरतामा ह्रास आउन नदिन बजार क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका सम्पुर्ण पुराना तारहरू हटाईने नेपाल टेलिकम बाग्लुङ लेखा कार्यालयका कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

यसरी निकालिएका पुराना तारहरुलाई एकत्र गरी लिलामी प्रक्रिया अनुरुप व्यवस्थापन गरिने टेलिकम बागलुङका लेखाप्रमुख दिनेश अर्यालले बताए । लिलामी प्रक्रिया अनुरुप उक्त तारहरु बिक्री गर्दा कम्पनीको राजश्वसमेत अभिबृद्धि हुने छ भने शहरी सुन्दरता समेत बढ्ने उनले बताए ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले यसअघि रहेको कपर नेटवर्कलाई विस्थापन गर्दै उच्चगतिको फाइबर नेटवर्कमा आधारित एफटिटिएच विस्तार तथा माइग्रेसनको कार्यलाई सम्पन्न गरिसकेको छ ।

साथै धौलागिरी अञ्चलका चारवटै जिल्ला सदरमुकामहरुम एफटिटिएच नेटवर्क विस्तार भई सेवावितरण समेत भईरहेको छ।

जसअनुसार बागलुङमा करिब तीन हजार, बेनीमा एक हजार दुई सय, पर्वतको कुश्मामा एक हजार दुई सय, र जोमसोममा करिब ४५० लाईन विस्तार गरिसकेको दूरसञ्चार कार्यालय बागलुङका प्रमुख शर्माले बताए ।

नेपाल टेलिकमको पोल प्रयोग गरि सेवा वितरण गरिरहेका अन्य ईन्टरनेट सेवा प्रदायकहरु एवं केवल टेलिभिजन सेवा प्रदायकहरु जसले पोल भाडा भुक्तानी गरेका छैनन् ति सेवा प्रदायकहरुको तार समेत हटाईने कार्यालय प्रमुखले जानकारी गराए ।

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया