
काठमाडौं ।
सोशल मिडिया कम्पनी फेसबुकले केहि समयअघि आफ्नो प्लेटफर्ममा नयाँ डिजाइन रोलआउट गरेको थियो । जसमा कम्पनीले पुरानो क्लासिक फेसबुकभन्दा आकर्षक र नयाँ बनाएको दाबी गर्दै आएको छ।
तर कतिपय प्रयोगकर्ताहरुले भने पुरानो क्लासिक फेसबुक नै ठिक भएको र नयाँले झनै प्रयोग गर्न समस्या भएको गुनासो गर्दै आएका छन् । फेसबुकले भने नयाँ डिजाइनलाई लगातार सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । त्यसैले गर्दा कम्पनीले नयाँ डिजाइन र पुरानो डिजाइनमा स्वीच गर्ने अप्सन प्रयोगकर्ताहरुलाई दिँदै आएको छ।
फेसबुकले यहि सेप्टेम्बरदेखि क्लासिक फेसबुक बन्द हुने जानकारी दिँदै अब नयाँ डिजाइन मात्र उपलब्ध हुने यसअघि नै घोषणा गरिसकेको छ।
यसको अर्थ अब केहि दिनपछि क्लासिक फेसबुकको अप्सन बन्द हुनेछ।
यसैबिचमा फेसबुकले आफ्ना यूजर्सलाई क्लासिक फेसबुकमा जाने सिमित मौका दिने भएको छ । जसअन्तरगत कम्पनीले ४८ घण्टासम्म क्लासिक फेसबुकमा जाने र प्रयोग गर्न सकिने अप्सन दिएको हो ।
यो नयाँ सुबिधा कम्पनीले सबै प्रयोगकर्ताहरुलाई दिएको छ भने विशेषगरि यो फीचर ग्रुप तथा पेजहरुमा देखिन्छ । यो पेज वा ग्रुपको ठिक तल राखिएको छ लेखिएकोछ, यदि तपाईँ मन पराउनुहुन्छ भने तपाईँ क्लासिक फेसबुक पेजमा ४८ घण्टासम्म पेज म्यानेज गर्न सक्नुहुनेछ।
सो स्वीच नाउमा क्लिक गरेसँगै नयाँ पेज देखिनेछ । जसमा क्लासिक फेसबुक सेप्टेम्बरदेखि नदेखिने जानकारी दिईएको छ । ‘नयाँ फेसबुक डटकमलाई डिफल्ट बनाउनुभन्दा अगाडि हामी तपाईँको सुझाब थप सुधार गर्न चाहन्छौं,’ फेसबुकले लेखेकोछ ।

त्यसमा फेसबुकमा पुन फिर्ता जानुको कारण फीचरहरु नहुनाले हो भन्ने प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा हो भनिएको खण्डमा के फीचर छैन भनेर अप्सन सहित लेख्नुपर्नेछ भने होईन भनेको खण्डमा किन क्लासिकमा जाने भन्ने जानकारी दिनुपर्नेछ ।

यसका साथमा फेसबुकले तपाईँलाई ४८ घण्टाको लागि क्लासिक फेसबुक पेजमा लानेछ र तपाईँले फेसबुकको पुरानो यादहरु ताजा गर्न सक्नुहुनेछ ।

तर यदि तपाईँलाई पुरानो फेसबुक मन परेन भने पुन तपाईँलाई नयाँ फेसबुक पेजमा जाने अप्सन समेत दिएको छ । र त्यसमा क्लिक गरेर फेरी नयाँ फेसबुकमा जान सक्नुहुनेछ ।
प्रकाशित: ६ आश्विन २०७७, मंगलवार