
काठमाडौं ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाटै परीक्षा लिने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।
सुर्खेतस्थित विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा लिने तालिका सार्वजनिक गरेकोहो।
शुक्रबार सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार विश्वविद्यालयले असोज १७ गतेदेखि कात्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने छ। परीक्षा बिहान ८ बजे सुरू भई अपरान्ह ४ बजेभित्र सकिनेछ भने परीक्षार्थीले आफूले लेखेको उत्तर विश्वविद्यालयले तोकेको इमेल ठेगानामा पठाउनुपर्ने विश्वविद्यालयले जनाएको छ।
परीक्षार्थीले हातले लेखेको उत्तरपुस्तिका तोकिएको समयवधिभित्र तोकिएको इमेल ठेगानामा स्क्यान गरि पिडिएफ फाइलमा रुपान्तरण गरेर मात्र पठाउनुपर्ने नियम राखिएको छ । यसको लागि एफोर साइजको उत्तरपुस्तिका मात्र प्रयोग गर्न पाईनेछ । ‘यदि परीक्षार्थीले पठाएको उत्तरपुस्तिका पिडिएफ फाइल प्रिन्ट गर्दा लेखेको कुरा नबुझिने वा अस्पष्ट भएमा परीक्षार्थी स्वयम जिम्मेवार हुनेछ,’ विश्वविद्यालयको सूचनामा भनिएको छ ।
परीक्षार्थीले उत्तर लेख्दा स्टेशनरी सामग्रीलगायत परीक्षाका लागि आवश्यक विद्युतीय उपकरणहरू र इन्टरनेटको व्यवस्था भने आफैंले गर्नुपर्ने विश्वविद्यालयले उल्लेख गरेको छ।
प्रकाशित: ५ आश्विन २०७७, सोमबार