Technology Khabar २६ भाद्र २०७७, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला स्थापनाको क्रममा हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरणहरु जडान भईसकेको र ८९८ वटा विद्यालयमा तोकिएको उपकरणहरु पुगिसकेको जानकारी दिएको छ ।
प्राधिकरणले सरकारको डिजिटल नेपालको अवधारणाअन्तरगत देशभरका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) बनाउने कार्य भईरहेको भन्दै सम्झौता भएकामध्येका कुल ५० प्रतिशत विद्यालयमा अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरी प्राधिकरणमा प्रतिवेदन उपलब्ध भएको स्पष्ट पारेको छ ।
प्राधिकरणले प्रेस विज्ञप्तिमार्फत अनुगमन भएका ५० प्रतिशत विद्यालयमा आपूर्तिकर्ता संस्थाको कार्य सन्तोषजनक नै पाईएको हुँदा कम्पनीलाई कुल सम्झौताको करिब ३० प्रतिशत रकम भुक्तानी गरेको जनाएको छ ।
आईटी ल्याब स्थापनाका साथमा आपूर्तिकर्ता संस्थाबाट गरिनुपर्ने तालिमको कार्य हालको परिस्थितीले गर्दा हुन नसकेको भन्दै सो बापतको रकम भने रोक्का गरिएको उल्लेख छ ।
आपूर्तिकर्ता संस्थाले सरकारले प्रतिबन्ध लगाएको गोष्ठी तथा सभा सम्मेलनलगायतको कार्य प्रतिबन्ध फुकुवा हुने बित्तिकै सम्पूर्ण जिल्लाहरुमा तोकिएको बमोजिमको तालिम प्रदान गरिने बताईएको छ।
गत वर्ष २०७६ भदौ २५ मा ओबीसीआई म्याक्स नेपाल जेभीसँग सम्झौता गरि देशभरका प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा ४ वटा सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न काम शुरु गरिएको थियो ।
महालेखाको प्रतिवेदनमा समेत सूचना प्रविधि प्रयोगशालाको काम समयमा हुन नसकेको औंल्याएको थियो । जसमा सम्बन्धित पदाधिकारीलाई जिम्मेबार बनाउनुपर्ने बताएको थियो ।
सूचना प्रविधि ल्याब तोकिएको समयमा भएन, सम्बन्धित पदाधिकारीलाई जिम्मेबार बनाऊ -महालेखा
यसअघि अघिल्लो वर्ष पुस महिनामा आईटी ल्याबको लागि तालिम तथा प्रशिक्षण कार्यक्रम शुरु भएको हो । त्यसबेला दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सिन्धुपाल्चोकको जनजागृती मावि चौतारामा आयोजित एक कार्यक्रममा प्रशिक्षण तालिम शुरु भएको घोषणा गरेका थिए ।
सूचना प्रविधि प्रयोगाशालाका लागि आवश्यक जनशक्तिलाई तालिम दिन शुरु
प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार