अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

  • Technology Khabar | १९ भाद्र २०७७, शुक्रबार
अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा
फाइल तस्वीर

काठमाडौं ।

अपडेटः यसैबिच अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा राष्ट्रपतिद्धारा स्वीकृत गरिएको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने गरि राष्ट्रपतिद्धारा तोकिएको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।

मन्त्री खतिवडाको मन्त्री पद भोलि भदौ २० गतेबाट सकिँदैछ। खतिवडाले त्यसअघि नै पदबाट राजीनामा दिएका हुन्।

गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिए पनि उनी पुनः मन्त्री बनेका थिए। उनी मन्त्री भएको शनिबार ६ महिना पुग्दैछ।

राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रिय सभाको १ सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै खतिवडाको पुनः सांसद हुने बाटो बन्द भएको छ ।

यससँगै खतिवडा मन्त्रिपरिषद्बबाट बिदा भएका हुन्। उनले मन्त्रिपरिषदमा पनि आजै राजीनामा दिने जानकारी गराएका थिए ।

अर्थमन्त्रीको रुपमा मन्त्री भएका खतिवडालाई पछि सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिईएको थियो ।

उनले यसअघिका सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेक्यूरिटी प्रेस खरिदमा ७० करोड घुस मागेको प्रकरण बाहिर आएसँगै पदबाट राजीनामा दिएपछि सञ्चार मन्त्रीको समेत पदभार सम्हालिरहेका थिए ।

खतिवडाको राजीनामासँगै अब सञ्चार मन्त्रीको पद समेत खाली भएको छ ।

प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार