
काठमाडौं ।
अब जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था लागू भएको छ ।
यसअघि लकडाउनमा निशुल्क रहेको सेवा साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थालेका थिए भने हाल राष्ट्र बैंकले नै एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने नीतिगत व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै त्यसरी एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गरेर पैसा निकाल्दा लाग्ने शुल्कलाई स्थायी रुपमै हटाएको हो ।
निर्देशनमा भनिएको छ, ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन ।’
यसैगरी निर्देशनमा राष्ट्र बैंकले एउटा बैंक तथ वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था राखेको छ ।
साथै अबका दिनमा जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै ग्राहकलाई एसएमएसमार्फत सूचना दिनुपर्ने छ । तर, त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख हुनेछ ।
राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारको सीमामा समेत हेरफेर गरेको छ । जस अनुसार डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यसअघि यस्तो सीमा राखिएको थिएन । प्रति कारोबार २५ हजार र प्रतिदिन १ लाखसम्मको यसअघिको सीमालाई भने यथावत राखिएको छ ।
त्यस्तै सबै कार्ड चिपयुक्त हुनुपर्ने व्यवस्था गरिएको छ। एटिएम काउन्टरमा आवश्यक सहयोग चाहिएमा सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकबाहेक अरु भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् ।
प्रकाशित: १४ भाद्र २०७७, आईतवार