
काठमाडौं ।
सरकारले साउन १ गतेदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ ।
साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्न सरकारले बजेटबाटै नयाँ व्यवस्था गरेको हो ।
आन्तरिक राजश्व विभागमा विहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयबाटै ‘भर्चुअल’ प्रविधिमार्फत सो प्रणालीको शुभारम्भ गरेका थिए । साना व्यवसायीले बैंकमार्फत कर र आय विवरण बुझाएपछि तत्कालै करचुक्ता प्रमाणपत्र लिनसकिने व्यवस्था मिलाइएको छ ।
विभागका निर्देशक महाराज कोइरालाले साना करदाताले अब १० मिनेटभित्रै आय विवरण र कर बुझाएर करचुक्ता प्रमाणपत्र लिनसक्ने जानकारी दिए ।
यसअघि साना करदाताले पनि आय विवरण बुझाउन आफू दर्ता रहेकै आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय धाउनुपर्ने अवस्था थियो ।
सरकारले चालु आर्थिक वर्षको बजेटको बजेटको बुँदा नं ३३३ मा वार्षिक रु २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट बुझाउन सक्ने व्यवस्था मिलाइने घोषणा गरिएको थियो ।
विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रणालीमा सुधार गरिएसँगै यसबाट झण्डै पाँच लाखको हाराहारीमा रहेका साना व्यवसायी लाभाविन्त हुने जानकारी दिए ।
विभागले वार्षिक रु २० लाखसम्म कारोबार र दुई लाखसम्म आय भएका प्राकृतिक व्यक्तिले आयकर ऐन, २०५८ अनुसार डे०१ आय विवरण तथा कर भुक्तानी बैंकमार्फत गर्न सकिने व्यवस्था गरेको हो ।
विभागको राजश्व बुझ्ने बैंकको कर्मचारीले राजश्व व्यवस्थापन सूचना प्रणाली लगइन गरी युजरनेम र पासवर्ड तथा आर्थिक वर्ष राखी प्रणालीमा प्रवेश गर्न सकिने छ । डि०१ भौचर फारम भन्ने मेनुमा प्रवेश गरेपछि डि०१ फारममा करदता वा निजको प्रतिनिधिले पेश गरेको डे०१ आय विवरण र कर दाखिला फारम प्रविष्टि गरी कर सङ्कलन गर्नुपर्ने विभागले जनाएको छ ।
डे ०१ आय विवरण तथा र दाखिला फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम करदाताको नाम र दस्तखत वा करदाताको प्रतिनिधि भए निजको नाम र दस्तखत र करदाताको मोबाइल नम्बर अनिवार्यरुमा उल्लेख गर्नुपर्ने छ । करदाताको स्थायी लेखा नम्बर प्रविष्टि गरेपछि प्रणालीले फारमको नाम र ठेगाना, करदाता दर्ता रहेको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय, बैंक शाखा मिति स्वचालित रुपमा देखिनेछ ।
प्रकाशित: २ श्रावण २०७७, शुक्रबार