
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को औसत ग्राहक आम्दानी घटिरहेको देखिएको छ । महालेखापरीक्षकको ५७ औं प्रतिवेदनकाअनुसार टेलिकमको औसत प्रति ग्राहक आम्दानीमा गत वर्षको तुलनामा कमी आएको छ।
प्रतिवेदनले टेलिकमका लिज लाइन बाहेक सबै सेवाहरुको औसत प्रयोगकर्ता आम्दानी घटेको देखाएको हो ।
टेलिकमको ल्याण्डलाईन अर्थात पिएसटिएन, जीएसएम मोबाइल, सिडिएमए, एडिएसएल, एफटीटीएच, र वाइम्याक्स सेवाको औसत प्रयोगकर्ता आम्दानी नाकारात्मक भएको प्रतिवेदनमा उल्लेख छ ।
जसअन्तरगत सबैभन्दा धेरै गिरावट वाइम्याक्स सेवामा रहेको देखिएको छ । आव २०७४/७५ मा सो सेवाको औसत प्रति हजार ग्राहक आम्दानी २,४९८.५५ रुपैयाँ रहेकोमा आव २०७५/७६ मा भने त्यसमा ४७ प्रतिशतले कमी आएर १,३३३.०२ रुपैयाँ रहेको छ ।
त्यसैगरि जीएसएम मोबाइल सेवामा १३ प्रतिशतले आम्दानी घटेको देखिएको छ भने सिडिएमएमा २९ प्रतिशत, एडिएसएलमा ३६ प्रतिशत र एफटीटीएच सेवाको औसत प्रति हजार ग्राहक आम्दानी ३८ प्रतिशतले घटेको छ ।

ग्राहक आम्दानी घट्नुमा प्रविधिको विकाससँगै डाटा सेवा प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै गएकोले ग्राहकलाई तीब्र गतिको डाटा सेवा उपलब्ध गराउन अन्य सेवा प्रदायकहरुले जोड दिने गरेको औंल्याईएको छ ।
त्यसैगरि टेलिकमको फोरजी एलटीई र एफटीटीएच सेवा बिस्तारमा भएको ढिलाईका कारणले ग्राहकको माग अनुसार इन्टरनेट सहितको सेवा प्रदान गर्न नसक्दा कम्पनीको प्रति ग्राहक आम्दानी घट्दै गएको देखिने प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित: १ श्रावण २०७७, बिहीबार