अमेजनले भारतीय मोबाइल अपरेटर एयरटेलको २ अर्ब डलर बराबरको शेयर किन्नसक्ने

  • Technology Khabar | २३ जेष्ठ २०७७, शुक्रबार
अमेजनले भारतीय मोबाइल अपरेटर एयरटेलको २ अर्ब डलर बराबरको शेयर किन्नसक्ने

काठमाडौं ।

ई-कमर्श कम्पनी अमेजन डट कमले भारतीय मोबाइल अपरेटर भारती एयरटेलमा कम्तिमा २ अर्ब अमेरिकी डलर बराबरको सेयर किन्नको लागि प्रारम्भिक चरणमा वार्ता गरिरहेको छ।

यस्तो कदमले भारतको डिजिटल अर्थव्यवस्थालाई उर्जा प्रदान गर्ने अनुमान गरिएको छ ।

रोयटर्सको रिपोर्टअनुसार यस योजनाबद्ध लगानी पूरा भयो भने अमेजनले भारती एयरटेलको हालको बजार मूल्यको आधारमा करीव ५ प्रतिशत शेयर हिस्सेदारी प्राप्त गर्नेछ र भारतको तेस्रो ठूलो टेलिकम कम्पनीलाई बढावा दिनेछ ।

नयाँ लगानीका साथमा त्यसले भारतीय टेलिकम बजारको नम्बर एक प्लेयर रिलायन्स जियोको बिरूद्ध प्रतिस्पर्धा गर्न खोज्नेछ ।

अमेजनले भारती एयरटेलमा १० प्रतिशतसम्मको शेयर खरीद गर्ने लगायत अन्य धेरै लगानी विकल्पहरूमा विचार गरिरहेको स्रोतहरुलाई उदृत गरेर आएको रिपोर्टमा उल्लेख छ । यदि शेयर खरीद गर्ने कुरा असफल भयो भने पनि कम्पनीहरूले अन्य व्यवसायीक लेनदेन हेर्न सक्नेछन् जसले एयरटेलका ग्राहकहरूलाई अमेजनका उत्पादनहरूमा सस्तो पहुँच दिन सक्नेछ ।

पछिल्लो ६ सातामा भारतीय टेलिकम क्षेत्रले अमेरिकी कम्पनीहरुलाई लगानी गर्न आकर्षित गरिरहेको छ । रिलायन्स जियोले विश्वका लगानीकर्ता कम्पनीहरुबाट १० अर्ब डलर लगानी भित्र्याएको छ । जसमा सोशल मिडिया फेसबुकले समेत लगानी गरेको छ ।

त्यसैगरि अर्को टेक कम्पनी अल्फाबेटले पनि भोडाफोन आईडीयामा लगानी गर्ने रिपोर्ट आएको थियो ।

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार