
काठमाडौं ।
सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को रिचार्ज कार्डको खपत लकडाउनको समयमा ह्वात्तै घटेको छ ।
गत चैत ११ गतेदेखि हालसम्म देशभर लागू भएको लकडाउनका कारण कम्पनीको रिचार्ज कार्डको दैनिक खपत घटेको हो ।
कम्पनीले लकडाउनको समयमा मोबाइल सेवाको प्रयोग कम हुँदा रिचार्ज कार्डको खपत हाल ४० प्रतिशतले घटेको अनुमान गरिएको छ ।
कम्पनीका सह प्रवक्ता कृष्णप्रसाद भण्डारीले लकडाउनमा सेवा प्रयोगमा कमी आएको र रिचार्ज गर्ने प्रवृत्ति समेत घटेको बताए ।
‘लकडाउन भएपछि मानिसहरु घरभित्रै आफन्तहरु साथसाथै बसिरहेका छन् । लकडाउनमा मोबाइल सेवाको समग्र प्रयोग नै घटेको छ। त्यसैले रिचार्ज कार्डको उपयोग र खपत पनि घटेको हो,’ सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीले भने ।
यसका साथै उनले रिचार्ज कार्डको खपत र प्रयोग घट्नुमा लकडाउनको बेलामा भएको आपूर्ति र ढुवानीको समस्यालाई आधार मानेका छन् ।
‘लकडाउन भएसँगै यातायात सेवा पनि बन्द भयो र रिचार्ज कार्ड विभिन्न स्थानहरुमा अझै पर्याप्त पुर्याउन सकिएको छैन्, त्यसैले खपत कम भयो,’ उनले भने ।
सह प्रवक्ता भण्डारीकाअनुसार सरकारले निर्देशन दिएअनुसार विभिन्न सेवामा दिईएको बोनस रकम, २५ प्रतिशतको छुट, शुन्य ब्यालेन्समा सेवा प्रयोग लगायतका अफरहरुले पनि रिचार्ज कार्डको खपत घटाएको हो ।
अहिले रिचार्ज कार्डको खपत घटेको देखिएपनि भविश्यमा लकडाउन खुलेसँगै मागमा वृद्धि र आम्दानीमा समेत सुधार हुने उनले बताए ।
एक तथ्यांकअनुसार कम्पनीले दैनिकरुपमा १५ देखि २० करोड रुपैयाँको हाराहारीमा रिचार्ज कार्ड बिक्री गर्दै आएको अनुमान गरिएको छ ।
गएको बैशाख ३० मा कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिक माघदेखि चैत महिनासम्मको वित्तीय बिबरणअनुसार आम्दानी घट्नुमा रिचार्ज कार्डमा डिस्काउन्ट दिनु, लकडाउनले गर्दा सेवा प्रभावित हुनु र शत प्रतिशत बोनस दिनु कारण रहेको बताएको थियो ।
करिब ६६ करोड ८४ लाख २९ हजार रुपैयाँले आम्दानी घटेको छ।
कम्पनीको आम्दानीलाई सबैभन्दा बढि रिचार्ज कार्डको बिक्रीमा दिईएको डिस्काउन्टले गर्दा असर पारेको छ । यस्तो रकम वार्षिकरुपमा ८५ करोड रुपैयाँ भन्दा अधिक रहेको सो समयमा जारी बिबरणमा उल्लेख थियो।
वि. सं. २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको जानकारी दिएको छ । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा बापतको आय घटेको दाबी गरेको थियो ।
अन्तर्राष्ट्रिय कल
एकातिर टेलिकमको रिचार्ज कार्डको खपत र प्रयोग घटेको छ भने अर्कोतर्फ कम्पनीको अन्तर्राष्ट्रिय टेलिफोन सेवाको आम्दानी पनि घटेको बताईएको छ ।
नेपाल टेलिकमको आम्दानी र नाफामा अन्तर्राष्ट्रिय कलको ठूलो हिस्सा रहँदै आएको छ ।
पछिल्लो २ महिनाभित्र टेलिकमको अन्तर्राष्ट्रिय कल करिब ७० प्रतिशतको हाराहारीले घटेको अनुमान गरिएको छ।
प्रवक्ता भण्डारीले अन्तर्राष्ट्रिय कल र त्यसबाट हुने आम्दानी घटेको तर कति असर परेको छ भनेर स्पष्ट तथ्यांक नै हेर्नुपर्ने बताए ।
‘विदेशमा भएका नेपालीहरुको आम्दानी घटिरहेको छ भने कति घर फर्किनलाई कुरेर बसिरहेका छन् जसले विदेशबाट आउने कल घट्नु स्वभाविक हो, तर कति घट्यो भन्ने हाल मसँग पनि डाटा छैन्,’ प्रवक्ता भण्डारीले भने ।
उता टेलिकमको आन्तरिक स्रोतले दाबी गरेअनुसार अन्तर्राष्ट्रिय कल करिब ७० प्रतिशतले घटेको छ।
टेलिकमको आम्दानीमा अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा करिब २५ प्रतिशत हिस्सा रहँदै आएको छ ।
यसअघि पनि टेलिकमले ओभर दि टप सेवाहरु र प्रतिस्पर्धाका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटेको उल्लेख गरेको थियो ।
पछिल्ला दिनहरुमा उपभोक्ताहरुले इन्टरनेटको माध्यमबाट भाइबर,ह्वाट्सएप, मेसेन्जरजस्ता भिडियो कल एपमार्फत कुराकानी गर्न थालेका छन्, जसको असर टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा परेको बताईएको छ ।
यो पनि हेर्नुस्-
नेपाल टेलिकम धेरै नाफा कमाउने सरकारी कम्पनी, ७ अर्ब ५४ करोड रुपैयाँ लाभांश सरकारले लग्यो
प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार