
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ ।
विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा ‘भकभधब’राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ ।
नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन्।
मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । 
विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईलमार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको कम्पनीले जनाएको छ।
इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
प्रकाशित: १० चैत्र २०७६, सोमबार