अनलाइनमार्फत विद्युत महशुल तिर्न सरकारको अपिल, महशुल समयमा तिर्न नसके जरिवाना नलाग्ने

  • Technology Khabar | १० चैत्र २०७६, सोमबार
अनलाइनमार्फत विद्युत महशुल तिर्न सरकारको अपिल, महशुल समयमा तिर्न नसके जरिवाना नलाग्ने

काठमाडौं ।

सरकारले अनलाइनमार्फत आफ्नो विद्युत महसुल भुक्तानी गर्न सेवाग्राहीहरुलाई अपिल गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीको जोखिमलाई कम गर्न सरकारले विद्युत महसुल भुक्तानी अनलाइनमार्फत गर्न भनेको हो ।

विद्युतको महसुल काउन्टरहरुमा हुने भीडभाडका कारण संक्रमणको जोखिम हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

इन्टरनेटको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको जरिवाना नलाग्ने र लाइन नकाटिने ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिए।

‘महसुल काउण्टरहरुमा भिडभाड हुने भएकाले कोभिड-१९ को संक्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्रहक महानुभावहरुमा अपिल गर्दछु’, मन्त्री पुनले भने, ‘इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध गरिने छैन र जरिवाना लिइने छैन ।’

प्रकाशित: १० चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...