
काठमाडौं ।
काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले कमलादी स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।
सम्झौता अनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्ने बताईएको छ ।
यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
खल्तीका निर्देशक अमित अग्रवालले भने, “हामी सिटी एक्सप्रेससँग यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र देशैभरी रहेका सिटी एक्सप्रेसका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ ।”
त्यस्तै, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने, “वालेट एपबाटै पैसा पठाउने र एजेन्ट मार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो । आन्तरिक मनी ट्रान्सफर सेवा सँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौँ ।”
प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार