सूचनाप्रविधिबाट अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति -प्रधानमन्त्री ओली

  • Technology Khabar | १० माघ २०७६, शुक्रबार
सूचनाप्रविधिबाट अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति -प्रधानमन्त्री ओली

काठमाडौं ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाप्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको बताएका छन् ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को प्रतिनिधिमण्डलसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले तिब्र गतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्नका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको पनि बताए।

‘हाम्रो सोच सकारात्मक र दूरगामी हुनुपर्छ र त्यसलाई हासिल गर्नका लागि सूचनाप्रविधि तथा इन्नोभेसनको विकासमा पर्याप्त ध्यान दिनुपर्छ । डिजिटल नेपाल फ्रेमवर्क त्यसैका लागि ल्याइएको हो,’ प्रम ओलीले भने ।

प्रधानमन्त्रीका अनुसार समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय संकल्प पूरा गर्न पनि सूचनाप्रविधिको विकासको विकल्प छैन । त्यसैगरी, प्राकृतिक तथा मानवीय जायज आकांक्षा पूर्ति गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटलाइजेशन आवश्यक रहेको र त्यसका लागि क्यान महासंघले नेतृत्व लिनुपर्ने प्रम ओलीले बताए।

उनका अनुसार विकासको गति तिब्रतर बनाउनका लागि पनि सूचना तथा सञ्चार प्रविधिको विकास आवश्यक छ र त्यस क्षेत्रको नेतृत्व क्यानले लिनुपर्छ ।

सो भेटका क्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले रचनात्मक र सुधारोन्मुख (constructive and disruptive) प्रविधि विकास एवं आर्टिफिसियल इन्टेलिजेन्स तथा इन्टरनेट अफ थिङ्स जस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक रहेको बताए।

क्यान महासंघले सूचना प्रविधिको संस्थागत विकास, सूचना तथा सञ्चार प्रविधि विधेयक, डिजिटल नेपाल फ्रेमवर्क, सूचना तथा सञ्चार प्रविधि नीति, ब्रोडब्याण्ड नीति, सूचना प्रविधिका उपकरण आयात निर्यात, सफ्टवेयर उद्योगको विकास र डिजिटल शिक्षाको प्रवर्द्धनलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रकाशित: १० माघ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार