
काठमाडौं ।
काठमाडौं, २ पुस । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीमाथि प्रतिबन्धपछि भारतमा दिल्ली हाइकोर्टले अर्को स्मार्टफोन निर्माता कम्पनी वन प्लस वन (One Plus One) माथि प्रतिबन्ध लगाएको छ ।
दिल्ली हाइकोर्टले वन प्लस वनमाथि माइक्रोम्याक्सको अपीलको आधारमा प्रतिबन्ध लगाएको हो । माइक्रोम्याक्सले वन प्लस वनमाथि साइनोजको साथ गरिएको आफ्नो डीलको कपिराइटको उल्लघंनको आरोप लगाएको छ ।
माइक्रोम्यासको यो अपीलमाथि सुनुवाई गर्दै दिल्ली हाइकोर्टले भारतमा वन प्लस वनको बिक्री, आयात तथा मार्केटिंगमाथि प्रतिबन्ध लगाएको हो । माइक्रोम्याक्सले हालै साइनोजेनसँग साइनोजेनमोड ओएसको लागि करार गरेको थियो ।
माइक्रोम्याक्सले छिटै नै साइनोजेन अपरेटिंग सिष्टमसहितको स्मार्टफोनको सीरीज भारतमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उता साइनोजेनले वन प्लस वनलाई भारतमा उसको ओएस भएको फोन बिक्री नगर्न सल्लाह दिएको बताईएको छ ।
माइक्रोम्याक्सले आफ्नो अपीलमा भनेको छ की, ‘हामीले साइनोजेनसँग एक करार गरेका छौं तर वन प्लस वनले त्यो करारको उल्लंघन गर्दै भारतमा अवैधरुपमा आफ्ना फोन बिक्री गरिरहेको छ । यदि वन प्लसको स्मार्टफोन को बिक्रीमा रोक नलगाएको खण्डमा माइक्रोम्याक्सलाई निकै नोक्सानी हुनेछ ।’
वन प्लस वनले आफ्नो पक्ष राख्दै यो वर्षको शुरुवातमा उसले साइनोजेनसँग एक क्यालिबरेशन अग्रीमेन्ट तथा ट्रेडमार्क लाइसेन्स करार गरेको बताएको थियो ।
कुनै चीनियाँ स्मार्टफोन कम्पनीमाथि भारतमा यस्तो प्रतिबन्ध लागेको यो दोस्रो पटक हो । यसअघि दिल्ली हाइकोर्टले चीनियाँ एप्पल भनेर पनि चिनिने जिओमीमाथि स्मार्टफोन बिक्री तथा आयातका लागि प्रतिबन्ध लगाएको थियो । तर यो प्रतिबन्धलाई कोर्टले क्वालकममा आधारित हेडसेटको लागि आठ जनवरीसम्मका लागि फुकुवा गरेको छ ।
कोर्टले क्वालकम उपकरणहरुसँग सम्बन्धित प्रतिबन्ध हटाएपनि मिडियाटेक चिपसेटसहितको फोनमा भने प्रतिबन्ध कायमै छ ।
प्रकाशित: २ पुष २०७१, बुधबार