
काठमाडौं ।
काठमाडौं । हालै अन्तर्राष्ट्रिय टेलिकम कम्पनी ओरेन्जले गरेको एक अनुसन्धानले अधिकांश अनलाइन यूजरहरु सामाजिक मिडिया बिना नै जीवनयापन सक्ने देखाएको छ ।
हालै अमेरिका, बेलायत, दक्षिण कोरिया, स्पेन लगायतका मुलुकहरुमा गरिएको अनुसन्धानात्मक अध्ययनले अधिकांश मानिसहरु सामाजिक मिडिया बिना पनि जीवनयापन गर्न सक्ने देखिएको हो ।
डिजिटल यूजेजको बारेमा गरिएको अध्ययनमा डिजिटल टेक्नोलोजीमा यूजर्सको निर्भरता, विश्वास, र पहुँचको बारेमा हेरिएको थियो ।
अध्ययनमा समावेश गरिएकामध्ये दुई तिहाई मानिसहरुले इन्टरनेट बिना नै बाँच्न सकिने बताएका थिए भने केवल एक तिहाईले मात्र सोसियल मिडिया बिना पनि बाँच्न सकिने बताए ।
केहि देशहरुमा भने सोसियल नेटवर्कप्रतिको लगाव निकै कम देखिएको थियो । यसमध्ये फ्रान्स र स्पेनका ७५ प्रतिशत सहभागी यूजर्सले सोसियल मिडिया बिना पनि जीवनयापन गर्न सकिने बताएका थिए । अझ अमेरिकामा भएका डिजिटल प्रयोगकर्ताहरुमध्ये सहभागी ८२ प्रतिशतले सोसियल मिडिया बिना नै बाँच्न सकिने उल्लेख गरेका छन् ।
समग्रमा हेर्दा ६७ प्रतिशतले इन्टरनेट बिना बाँच्न सकिने बताएका थिए भने ६१ प्रतिशतले मोबाइल बिना नै जीवनयापन गर्न सकिने बताए ।
सो सर्वेक्षण यूजर्सको भनाई र अन्तरवार्तामा आधारित रहेको थियो । जसअनुसार अधिकांश जवाफदिने यूजर्सले सामाजिक संजालहरुमा विश्वास नगर्ने बताएका थिए । विश्वासको तह फ्रान्स र स्पेनका उपभोक्ताहरुमाझ निकै कमजोर रहेको देखिएको छ । जहाँ क्रमश: ३१ प्रतिशत र ४१ प्रतिशतले मात्र सामाजिक संजालमा विश्वास गर्ने गरेका छन् । तर यो संख्या अमेरिका र बेलायतमा भने केहि बढि देखिएको छ ।
बेलायतमा ५१ प्रतिशत र अमेरिकामा ५० प्रतिशतले मात्र सामाजिक संजालमा विश्वास गर्ने देखिएको छ । समग्रमा हेर्दा करिब ५० प्रतिशत मानिसहरुले सामाजिक संजालमा विश्वास नगर्ने देखिएको अध्ययन प्रतिवेदनमा औंल्याईएको छ ।
तर सार्वजनिक संस्थाहरु तथा सरकारले संचालन गरेका वेबसाइटहरुप्रतिको विश्वास भने अधिक गरिएको सर्वेमा उल्लेख छ ।
त्यसैगरि दुईमध्ये १ जना मानिसहरुले आफ्नो व्यक्तिगत डाटा ह्याक हुने बारेमा सावधान रहेको देखिएको छ ।
सो अध्ययनमा विभिन्न ९ देशका ११ हजार भन्दा बढि यूजर्ससँग प्रत्यक्ष कुराकानी गरेर तथ्यांक संकलन गरिएको थियो ।
प्रकाशित: १२ आश्विन २०७६, आईतवार