बेलायतमा साइबर सुरक्षा क्षमता बढाउने प्रयासबीच बीटीले ल्यायो व्यवसायका लागि तालिम कार्यक्रम
काठमाडौं ।
बेलायतले आफ्नो साइबर सुरक्षा प्रतिरक्षा बलियो बनाउने प्रयासलाई तीव्रता दिइरहेका बेला दूरसञ्चार कम्पनी बीटीले व्यवसायलाई साइबर आक्रमणबाट जोगिन सहयोग गर्ने नयाँ कार्यक्रम सुरु गरेको छ।
‘साइबर प्रिपेयर्ड यूके’ नाम दिइएको यस कार्यक्रमको मुख्य उद्देश्य व्यवसायलाई प्रत्यक्ष रूपमा सहभागी गराएर साइबर आक्रमणसम्बन्धी अभ्यास गराउनु हो। यसअन्तर्गत व्यवसायहरूले वास्तविक आक्रमणको अनुभव गराउने अभ्यासमा भाग लिनेछन्।
बीटीका अनुसार अभ्यासमा सामाजिक इन्जिनियरिङदेखि र्यान्समवेयर आक्रमणसम्मका विभिन्न परिदृश्य समावेश हुनेछन्। आक्रमण ग्राहक, वित्तीय अवस्था र व्यावसायिक सञ्चालनसम्म फैलिँदै जाँदा सहभागीहरूले दबाबबीच महत्त्वपूर्ण निर्णय लिनुपर्नेछ।
यस कार्यक्रमबाट व्यवसायले साइबर आक्रमण हुँदा कस्तो असर पर्न सक्छ, आफ्नो प्रणालीका कुन क्षेत्रमा कमजोरी छन् र पत्ता लागेका जोखिमअनुसार व्यावहारिक कार्ययोजना कसरी बनाउने भन्ने बुझ्ने अपेक्षा गरिएको बीटीले जनाएको छ।
यो कार्यक्रम सन् २०२७ देखि सुरु हुनेछ। पहिलो तालिम फेब्रुअरी ३ मा लन्डनमा हुनेछ। त्यसपछि फेब्रुअरी ११ मा न्युक्यासल र फेब्रुअरी २३ मा बर्मिङ्घममा कार्यक्रम आयोजना गरिनेछ। थप लचिलो समय चाहिने व्यवसायका लागि अनलाइन तालिमको विकल्प पनि उपलब्ध हुनेछ। बीटीले सन् २०२८ को अन्त्यसम्म एक लाख घण्टाको साइबर सुरक्षा तथा प्रतिरोध क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिने लक्ष्य राखेको छ।
टेलिकम्स डटकमका अनुसार साना व्यवसाय हाम्रो अर्थतन्त्र र स्थानीय बजारका आधारस्तम्भ हुन्। उनीहरूले बेलायतभर आर्थिक वृद्धि, नवप्रवर्तन र रोजगारी सिर्जना गरिरहेका छन्,” साना व्यवसाय तथा उद्यममन्त्री लर्ड लिओङले भने, “नयाँ प्रविधि अपनाउँदै गर्दा उनीहरूलाई अनलाइन जोखिमबाट जोगिने उपकरण पनि आवश्यक हुन्छ। साइबर प्रिपेयर्ड यूकेजस्ता कार्यक्रममार्फत उनीहरूलाई सम्भावित आक्रमणको सामना गर्न तयार पार्ने, आर्थिक क्षति हुनबाट जोगाउने र अनलाइन क्षेत्रमा नवप्रवर्तन तथा व्यवसाय विस्तार गर्न आत्मविश्वास बढाउने काम भइरहेकोमा म खुसी छु।”
बीटीको यो नयाँ कार्यक्रमलाई एन्थ्रोपिक, बेलायत सरकारको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी), माइक्रोसफ्ट, सामसङ, गुगल, लेखा व्यवस्थापन सफ्टवेयर प्रदायक जिरो तथा साइबर सुरक्षा कम्पनीहरू क्राउडस्ट्राइक, ट्रस्टलेयर, इमर्सिभ र फोर्टिनेटले समर्थन गरेका छन्।
साइबर सुरक्षा बलियो बनाउनुको महत्त्व देखाउन बीटीले बेलायत सरकारको एउटा अनुसन्धानलाई उद्धृत गरेको छ। उक्त अनुसन्धानअनुसार साइबर आक्रमणका कारण बेलायतका व्यवसायले वार्षिक करिब १४ अर्ब ७० करोड पाउन्डको क्षति बेहोर्ने गरेका छन्।
यसैगरी, बीटीको आफ्नै तथ्यांकअनुसार एआईका कारण साइबर सुरक्षा प्रणालीका कमजोरी पत्ता लगाउन गरिने दुर्भावनापूर्ण स्क्यानमा एक वर्षको अवधिमा ५०० प्रतिशत वृद्धि भएको छ।
“बेलायतका व्यवसायले हरेक दिन साइबर जोखिमको सामना गरिरहेका छन् र ती जोखिम झन् जटिल बन्दै गएका छन्। अन्य कुनै पनि नेटवर्क प्रदायकको तुलनामा बीटीले धेरै व्यवसायलाई सुरक्षा प्रदान गर्दै आएको छ। अब वास्तविक अवस्थाको अभ्यास र तालिम समेटिएको राष्ट्रिय कार्यक्रममार्फत बेलायतका प्रत्येक साना व्यवसायलाई साइबर आक्रमणको सामना गर्न तयार पार्न हामी थप सक्रिय भएका छौँ,” बीटी बिजनेसका प्रमुख कार्यकारी अधिकृत जोन जेम्सले भने।
यो कार्यक्रम बेलायती संसद्को हाउस अफ लर्ड्सले हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनपछि आएको हो। उक्त प्रतिवेदनमा विभिन्न प्रकारका जोखिमबाट, विशेषगरी एकैपटक धेरै पूर्वाधारलाई लक्षित गर्ने आक्रमणबाट, महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न सरकारको क्षमता कमजोर रहेको भन्दै कडा आलोचना गरिएको थियो।
दूरसञ्चार कम्पनीहरू पनि यो चुनौती सामना गर्न सक्रिय हुन थालेका छन्।
प्रतिवेदन सार्वजनिक भएको केही समयपछि भोडाफोनले बेलायतको रेजिलियन्स एकेडेमी (यूकेआरए) सँग साझेदारी गर्दै राष्ट्रिय प्रतिरोध क्षमता उद्योग नेतृत्व मञ्च स्थापना गरेको थियो। यसले विभिन्न क्षेत्रमा रहेका साझा कमजोरी पहिचान तथा अध्ययन गर्न र तिनको सामना गर्न समन्वय गर्न सहज बनाउनेछ। केपीएमजी र स्कटिस पावर इनर्जी नेटवर्क्स यसमा सहभागी भइसकेका छन्।
बीटीले पनि साना व्यवसायको साइबर सुरक्षा क्षमता बढाउन सहयोग गरिरहेको अवस्थामा बेलायतले दिनप्रतिदिन जटिल र बढ्दो संख्यामा भइरहेका साइबर आक्रमणको सामना गर्न सक्ने आशा बढेको छ।