२० वर्षपछि एक्सले ल्यायो अभिभावकीय नियन्त्रण सुविधा
काठमाडौं ।
अस्तित्वमा आएको २० वर्षपछि ट्विटरका नामले चिनिने सामाजिक सञ्जाल एक्सले किशोरकिशोरीका लागि अभिभावकीय नियन्त्रण सुविधा थपेको छ। यसले अभिभावक तथा संरक्षकलाई आफ्ना बालबालिकाले प्लेटफर्ममा कस्तो सामग्री हेर्छन् र त्यसमा कसरी अन्तरक्रिया गर्छन् भन्ने व्यवस्थापन गर्ने सुविधा दिनेछ। तर, अन्य सामाजिक सञ्जालले यस्तो सुविधा लागू गरेको तरिकाभन्दा फरक रूपमा एक्सले यसमा किशोरकिशोरीलाई पनि आफ्नो खातासम्बन्धी निर्णयमा सहभागी गराएको छ।
कम्पनीका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्ताका खाता पूर्वनिर्धारित रूपमा ‘प्रोटेक्टेड मोड’ मा रहनेछन्। यसको अर्थ उनीहरूले संवेदनशील सामग्री हेर्न पाउने छैनन् र उनीहरूलाई लक्षित विज्ञापन पनि देखाइने छैन। यद्यपि, एक्सले किशोरकिशोरीलाई आफ्ना खातामा लगाइएका प्रतिबन्धहरू हेर्न सक्ने सुविधा दिएको छ।
अभिभावक तथा संरक्षकले किशोरकिशोरीका निजी सन्देश पढ्न, उनीहरूको खोज वा हेराइ इतिहास हेर्न अथवा उनीहरूकै नामबाट पोस्ट गर्न भने पाउने छैनन्।
टेकक्रञ्चका अनुसार यो सुविधामार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले हरेक साता एक्समा बिताउने समय हेर्न, दैनिक प्रयोग समयको सीमा तोक्न र नयाँ फलोअर स्वीकार गर्नुअघि अनुमति अनिवार्य गर्न सक्छन्। त्यस्तै, उनीहरूले फलो गरेका खाताबाट मात्र फिडमा सामग्री र भिडियो सिफारिस हुने व्यवस्था गर्न, निश्चित शब्दहरू फिल्टर गर्न, संवेदनशील मिडिया बन्द गर्न र कसले किशोरकिशोरीलाई प्रत्यक्ष सन्देश (डीएम) पठाउन पाउने भन्ने निर्धारण गर्न सक्छन्। साथै, उनीहरूले आफ्ना किशोरकिशोरीले कससँग सन्देश आदानप्रदान गरिरहेका छन् भन्ने पनि हेर्न सक्नेछन्।
एक्सले यो सुविधा ल्याउनुअघि केही महिनाअघि आफ्नो एआई च्याटबोटको प्रयोगबाट बालबालिका र महिलाका यौनिक स्वरूपका तस्बिर बनाउन सकिने विषयमा आलोचना खेपेको थियो। त्यतिबेला प्लेटफर्ममा यस्तो गतिविधि रोक्न पर्याप्त नियन्त्रण नभएको आरोप लागेको थियो।
यस सामाजिक सञ्जालमा लामो समयदेखि बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री, गलत सूचना र एआई बटहरूको समस्या पनि रहँदै आएको छ। साथै, एक्सले प्रयोगकर्तालाई अश्लील सामग्री पोस्ट गर्नसमेत अनुमति दिँदै आएको छ।
एक्स सामान्यतया किशोरकिशोरीलाई लक्षित गरेर बनाइएको प्लेटफर्म होइन। तर, यसको अर्थ उनीहरूले यो प्रयोग गर्दैनन् भन्ने होइन। सन् २०२४ को एउटा अध्ययनले जेनेरेसन अल्फाका करिब एक तिहाइ बालबालिकाको एक्समा खाता रहेको देखाएको थियो। प्लेटफर्मले प्रयोगकर्ताको उमेर कम्तीमा १३ वर्ष हुनुपर्ने नियम राखेको छ। तर, यसमा उपलब्ध सामग्रीको प्रकृति हेर्दा यो उमेर सीमा खासै कडा मानिँदैन।
एक्सका सुरक्षा प्रमुख माइकल ओ’हर्लिहीले ब्लग पोस्टमा लेखेका छन्, “अभिभावक व्यावहारिक उपकरण चाहन्छन् भने किशोरकिशोरीलाई हुर्कन र विकास हुन आवश्यक स्वतन्त्रता पनि चाहिन्छ। एक्सको अभिभावकीय नियन्त्रण सुविधामार्फत परिवारले आफ्नो घरपरिवारअनुसार आवश्यक सीमा निर्धारण गर्न सक्छन्। त्यही समयमा किशोरकिशोरीले आफ्नो खाताको स्वामित्व कायम राख्न र गरिएका हरेक परिवर्तन हेर्न सक्छन्। यी दुईबीच सन्तुलन कायम गर्नु महत्त्वपूर्ण छ र हामीले यही उद्देश्यका साथ यो सुविधा निर्माण गरेका हौँ।”