ह्वाट्सएपमा अब आवाज सहितका स्टिकर पठाउन सकिने
काठमाडौं ।
ह्वाट्सएपले आवाज सहितका एनिमेटेड स्टिकर बनाउन र पठाउन सकिने नयाँ सुविधा प्रयोगकर्ताको लागि ल्याउन थालेको छ।
अडियो स्टिकर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड परिक्षण भर्सनमा देखिएका थिए। त्यतिबेला यो सुविधा विकासकै क्रमम थियो।
अहिले भने ह्वाट्सएको भर्सन २.२६.४७.१ म यो सुविधा उपलब्ध गराउन थालिएको छ। सुरुमा गुगल प्ले स्टोरमार्फत बिटा भर्सन परिक्षण गरिरहेका केहि प्रयोगकर्ताले मात्रै यो सुविधा प्रयोग गर्न पाउनेछन्।
प्रयोगकर्ताले स्टिकर किबोर्डबाटै यस्ता स्टिकर बनाउन सक्नेछन्। त्यसकालागि क्रिएट स्टिकर अप्सन छनोट गरी फोनको ग्यालरिमा रहेको भिडियो छान्नुपर्छ। त्यसपछि ह्वाट्एपले उक्त भिडियोलाई एनिमेटेड स्टिकरमा परिवर्तन गर्छ।
स्टिकर सम्पादन गर्ने अप्सनको माथिको भागमा नयाँ अडियो बटन थपिएको छ। जस बटमबाट स्टिकरसँगै बज्ने आवाज छनोट गर्न सकिन्छ।
प्रयोगकर्ताले भिडियोमा भएको वास्तविक आवाज नै राख्न एपमा उपलब्ध साउन्ड प्रभाव छनोट गर्न, फाइल म्यानेजरबाट गीत वा अन्य अडियो राख्न वा आफ्नै आवाज रेकर्ड गर्न सक्नेछन्।
स्टिकर च्याटमा पठाउँदा त्यसको छेउमा सानो अडियो आइकन देखिने छ। यसले प्राप्त गर्नेले अडियो आइकनमा थिचेपछि मात्रै आवाज सुन्न सक्नेछन्। आवाज लगातार तीनपटक बजेपछि आफै रोकिने छ।
ह्वाट्सएपले स्टिकर र त्यससँग जोडिएको अडियो दुवैलाई इन्ड टु इन्ड इन्क्रिप्सन मार्फत सुरक्षित गरिएको जनाएको छ।
टेलिग्राफका अनुसार, एन्ड्रोइडमा ह्वाट्एपको बिटा प्रोग्रामअन्तर्गत रहेका सबै प्रयोगकर्ताले तत्काल यो सुविधा पाउने छैनन्। आगामी केहि साताभित्र थप परिक्षणकर्तामाझ उपलब्ध हुने अनुमान गरिएको छ।
यो सुविधा आईओएस डिभाइसमा पनि देखिन थालेको छ। सुरुमा टेस्टफ्लाइट प्रयोग गर्ने केहि प्रयोगकर्ता र एप स्टोरबाट ह्वाट्एप डाउनलोड गरेका केहि प्रयोगकर्ताले समेत यो सुविधा पाउन थालेका छन्।
आवाज सहितका स्टिकर ह्वाट्एपका सबै प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुने भन्नेबारे स्पष्ट नभएको टेलिग्राफले जनाएको छ।