भारती एयरटेलले भारतका डाटा सेन्टरहरूमा १२ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने
काठमाडौं ।
भारती एयरटेलले भारतको असम राज्यमा तीनओटा डाटा सेन्टर स्थापना गर्न १२ अर्ब भारतीय रुपैयाँ (१३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना सार्वजनिक गरेको छ। यीमध्ये दुईओटा डाटा सेन्टरका लागि स्थानीय सरकारसँग नयाँ सम्झौता गरिएको छ।
सामाजिक सञ्जालमा जारी गरिएको एक विज्ञप्तिमा, कम्पनीले जोरहाट र सिलचरमा डाटा सेन्टरहरू विकास गर्न असम सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ। यी दुई स्थानका लागि ५ अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइएको छ।
बाँकी लगानी गुवाहाटीस्थित कम्पनीको साइटका लागि छुट्याइएको छ। ‘द इकोनोमिक टाइम्स’ का अनुसार, मार्च महिनामै सहमति जुटिसकेको उक्त साइटमा अहिले निर्माण कार्य चलिरहेको छ।
एयरटेलले सन् २०२८ सम्ममा यी तीनवटै डाटा सेन्टर सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
भारती इन्टरप्राइजेजका उपाध्यक्ष राजन भारती मित्तलले कम्पनीको असमसँग लामो सम्बन्ध रहेको बताउँदै, कम्पनी २० वर्षभन्दा बढी समयदेखि यस राज्यमा सक्रिय रहेको र हरेक वर्ष नेटवर्क स्तरोन्नति तथा फाइबर नेटवर्कका लागि आफ्ना विभिन्न केन्द्रहरूमा लगानी गर्दै आएको उल्लेख गरे।
उनले थपे, “हामीले यस राज्यमा डिजिटल कनेक्टिभिटी उपलब्ध गराएका छौं, जुन आजका दिनमा सरकारी सेवा, शिक्षा, स्वास्थ्य सेवा वा अन्य जुनसुकै क्षेत्रका लागि पनि अपरिहार्य छ।”
‘द इकोनोमिक टाइम्स’ का अनुसार जोरहाटमा बन्ने केन्द्र चार एकड क्षेत्रफलमा फैलिनेछ र यसको क्षमता १० मेगावाट हुनेछ। सिलचरमा बन्ने केन्द्र भने अलि ठूलो हुनेछ; यो पाँच एकड क्षेत्रफलमा फैलिनेछ र यसको क्षमता १५ मेगावाट हुनेछ।