ताजा समाचार

आईडी र पासवर्डहरू समावेश भएको ३ अर्ब ५० करोड रेकर्डहरू लीक, तपाईंको खाता पनि पर्यो कि?

आईडी र पासवर्डहरू समावेश भएको ३ अर्ब ५० करोड रेकर्डहरू लीक, तपाईंको खाता पनि पर्यो कि?
Global IME Bank

विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारीलाई लिएर एउटा गम्भीर चिन्ताको विषय देखा परेको छ। असुरक्षित रहेका दुई छुट्टाछुट्टै डाटाबेसहरूमा ३.५ अर्बभन्दा बढी रेकर्डहरू अनलाइनमा खुला अवस्थामा फेला परेका छन्। यी रेकर्डहरूमा प्रयोगकर्ताका नाम (युजरनेम), पासवर्ड, इमेल ठेगाना, फोन नम्बर, सरकारी परिचय पत्र नम्बर र अन्य संवेदनशील कागजातहरू समावेश छन्। साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले यी डाटाबेसहरू फेला पारेका हुन्। यस जानकारीको प्रयोग गरेर अनलाइन खाताहरू कब्जा गर्ने, व्यक्तिको पहिचान चोरी गर्ने वा ठगी गर्ने कार्य हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

‘वायर्ड’ को एक समाचार रिपोर्टअनुसार, पहिलो डाटाबेस ‘ब्ल्याक हिल्स इन्फर्मेसन सेक्युरिटी’ का अनुसन्धानकर्ता जेरेमिया फाउलरले फेला पारेका हुन्। यसमा करिब २ अर्ब लगइन रेकर्डहरू थिए, जसमा इमेल ठेगाना, प्रयोगकर्ताका नाम, पासवर्ड, कुकीज, सेसन टोकन र डिभाइससम्बन्धी जानकारी समावेश थिए। यो डाटा ८,४७१ ओटा फोल्डरहरूमा राखिएको थियो, जसमध्ये केही फोल्डरहरूमा देशको नाम समेत उल्लेख गरिएको थियो।

अनुसन्धानकर्ताले लाखौं इमेल खाताहरूसँग सम्बन्धित जानकारीका साथै १० करोडभन्दा बढी सामाजिक सञ्जाल र ई-कमर्स खाताहरूसँग जोडिएको विवरण फेला पारे। यो डाटाको ठूलो हिस्सा “इन्फो-स्टिलर” मालवेयरको प्रयोग गरेर चोरी गरिएको हुन सक्ने अनुमान गरिएको छ। यो एक प्रकारको हानिकारक सफ्टवेयर हो, जसले संक्रमित डिभाइसबाट सुरक्षित गरिएका पासवर्डहरू र अन्य व्यक्तिगत जानकारीहरू चोर्न सक्छ।

उक्त डाटाबेसमा करिब ४ लाख डकुमेन्टहरू पनि थिए, जसमा व्यक्तिहरूको डिजिटल गतिविधिहरूबारे विस्तृत जानकारी हुन सक्छ। यसमा ब्राउजर, एप्लिकेसन र अपरेटिङ सिस्टमसँग सम्बन्धित विवरणहरू समेत समावेश हुन सक्छन्। अनुसन्धानकर्ताले होस्टिङ कम्पनीलाई जानकारी गराएपछि, केही दिनभित्रै उक्त डाटाबेसमा सर्वसाधारणको पहुँच बन्द गरियो।

दोस्रो डाटाबेस साइबर सुरक्षा कम्पनी ‘अपगार्ड’ का अनुसन्धान निर्देशक ग्रेग पोलकले फेला पारेका हुन्। यसमा करिब १.६४ अर्ब डकुमेन्टहरू थिए, जसमध्ये अधिकांश चीनमा रहेका व्यक्ति र व्यवसायहरूसँग सम्बन्धित थिए। यसमा कम्तीमा ८४ करोड राष्ट्रिय परिचय पत्र नम्बर, ३० करोड फोन नम्बर, करिब १ करोड १० लाख विद्यार्थीका विवरण र करिब ८० लाख व्यावसायिक दर्ता सम्बन्धी जानकारी समावेश थिए।

यो डाटाबेस इन्टरनेटमा कुनै पनि प्रमाणीकरण बिना नै उपलब्ध थियो। अनुसन्धानकर्ताहरूले यसको मालिक को हो भनेर पत्ता लगाउन सकेनन्। अनुसन्धानकै क्रममा यसमाथिको पहुँच बन्द गरियो। यद्यपि, यो घटना हुनुभन्दा अगाडि कसैले यो डाटा डाउनलोड गरिसकेको थियो वा थिएन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। अनुसन्धानकर्ताहरूका अनुसार, ती दुई डाटाबेसहरूमा कुल ३.५ अर्बभन्दा बढी रेकर्डहरू छन्; तर, यसको अर्थ ३.५ अर्ब फरक-फरक व्यक्तिहरू प्रभावित भएका छन् भन्ने होइन। एउटै व्यक्तिका धेरै खाताहरू हुन सक्छन् र उही जानकारी धेरै पटक रेकर्ड गरिएको हुन सक्छ।

Sajilo Visa
easy care