ताजा समाचार

कार कम्पनीहरूले भारतीय बजारमा डिसेम्बर १ देखि मूल्य बढाउने तयारी

कार कम्पनीहरूले भारतीय बजारमा डिसेम्बर १ देखि मूल्य बढाउने तयारी
भारतीय सडकमा गाडीहरु। तस्बिरः पेक्सेल्स डटकमबाट।
Global IME Bank

छिमेकी देश भारतका अटो कम्पनीहरुले अर्को महिनादेखि आफ्ना सवारी साधनहरूको मूल्य बढाउने भएका छन्। टाटा मोटर्स, हुन्डाई र आउडी जस्ता अटोमोबाइल निर्माताहरूले उत्पादन लागत बढेको कारण देखाउँदै आफ्ना कारहरूको मूल्य बढाउने योजना बनाएका छन्।

डिसेम्बर १ देखि, टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले भारतीय बजारमा आफ्ना कारहरूको मूल्य औसतमा ०.५ प्रतिशतले बढाउने भएको छ। यो मूल्य वृद्धि इन्टरनल कम्बसन इन्जिन भएका सवारी साधनदेखि विद्युतीय सवारी साधनसम्मका सबै भेरियन्टहरूमा लागू हुनेछ। टाटा मोटर्सले उत्पादन लागतमा भएको उच्च वृद्धिको असरलाई केही हदसम्म कम गर्न यो निर्णय लिएको हो। कम्पनीले जनाए अनुसार, मूल्य वृद्धि गरेतापनि लागतको ठूलो हिस्सा कम्पनी आफैंले व्यहोर्नेछ।

कोरियाली अटो निर्माता हुन्डाईले पनि भारतीय बजारमा डिसेम्बर १ देखि लागू हुने गरी आफ्ना केही कार मोडल र तिनका भेरियन्टहरूको मूल्य ८,००० भारतीय रुपैयाँसम्म बढाउने घोषणा गरेको छ। स्टक एक्सचेन्जमा बुझाएको विवरणमा हुन्डाईले उत्पादन लागतमा भएको भारी वृद्धिका कारण यो कदम चालिएको स्पष्ट पारेको छ। कम्पनीले यसअघि आन्तरिक कार्यक्षमतामा सुधार र लागत घटाउने उपायहरू अपनाएर बढेको खर्चको ठूलो हिस्सा आफैं व्यवस्थापन गर्दै आएको थियो, तर अब बढेको लागतको केही अंश ग्राहकहरूमा सार्नुपर्ने अवस्था आएको छ।

भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले नोभेम्बर २२ देखि लागू हुने गरी आफ्ना केही मोडलहरूको मूल्य बढाइसकेको छ। यसका साथै, जर्मन लक्जरी कार निर्माता अडीले पनि जनवरी १, २०२७ देखि लागू हुने गरी आफ्ना सबै सवारी साधनहरूको मूल्य २ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ।

यी सबै निर्माताहरूले उत्पादन लागतमा भएको उल्लेख्य वृद्धिलाई नै मूल्य वृद्धिको मुख्य कारण बताएका छन्।

अटो निर्माताहरूले यस वर्ष धेरै पटक मूल्य बढाएका छन्। मारुती सुजुकीले यस वर्ष हालसम्म चार पटक मूल्य वृद्धि गरिसकेको छ। नोभेम्बर २२ को वृद्धिसँगै, यसअघि जुन, अगस्ट र सेप्टेम्बर महिनामा पनि मूल्य बढाइएको थियो। हुन्डाईले जनवरी, जुन र सेप्टेम्बरमा मूल्य बढाएको थियो भने अब डिसेम्बरमा चौथो पटक मूल्य वृद्धि गर्दैछ। टाटा मोटर्सले यस वर्ष चौथो पटक मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। कम्पनीले यसअघि अप्रिल, जुलाई र सेप्टेम्बरमा मूल्य बढाएको थियो भने यो चौथो वृद्धि डिसेम्बरदेखि लागू हुनेछ।

महिन्द्रा, किया, जेएसडब्लु एमजी मोटर इन्डिया र बीएमडब्लु लगायतका अन्य निर्माताहरूले पनि यस वर्ष धेरै पटक मूल्य बढाएका छन्।

Sajilo Visa
easy care