आर्टिफिसियल इन्टेलिजेन्स

दैनिक जीवनका सामान्य काममा पनि उत्कृष्ट एआई एजेन्टहरू किन संघर्ष गरिरहेका छन्?: रिपोर्ट

दैनिक जीवनका सामान्य काममा पनि उत्कृष्ट एआई एजेन्टहरू किन संघर्ष गरिरहेका छन्?: रिपोर्ट
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर
Global IME Bank

एआई कम्पनीहरूले पछिल्ला केही महिनादेखि व्यक्तिगत एआई एजेन्टलाई मानिसको दैनिक डिजिटल कामको झन्झट कम गर्ने उपकरणका रूपमा प्रचार गरिरहेका छन्। लाखौँ प्रयोगकर्ताले यो अवधारणालाई विश्वास गर्दै आफ्ना किनमेलका तालिका, यात्रा योजना र दैनिक जिम्मेवारी एआई सहायकलाई सुम्पिन थालेका छन्। तर, नयाँ अनुसन्धानले सबैभन्दा उन्नत एआई मोडेलहरूलाई समेत मानिसको दैनिक जीवनका जटिल विवरणहरू विश्वसनीय र सुरक्षित रूपमा व्यवस्थापन गर्न कठिन भइरहेको देखाएको छ।

दैनिक काममा एआई एजेन्टको क्षमता परीक्षण गर्न तयार गरिएको नयाँ बेन्चमार्क ‘सेलबेन्च’ का अनुसार ओपनएआई, एन्थ्रोपिक र मेटाका सबैभन्दा उन्नत मोडेलहरू पनि एक तिहाइभन्दा बढी प्रयासमा असफल भएका छन्। परीक्षण गरिएका सबै मोडेलका प्रयासमध्ये १५.७ प्रतिशतमा कम्तीमा एउटा सुरक्षा मापदण्ड पूरा हुन सकेन। यसले कतिपय अवस्थामा अनपेक्षित परिणाम निम्त्याएको थियो।

सेलबेन्च द ओपनक्लाउ फाउन्डेसन, पार्सवेभ, हगिङ फेस, रेड ह्याट र युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका अनुसन्धानकर्ताहरूको सहकार्यमा विकास गरिएको हो। यसमा वास्तविक संसारमा प्रयोग भएका एआई एजेन्टका एक करोडभन्दा बढी अज्ञात पहिचानसहितका अन्तरक्रियालाई आधार बनाइएको छ। मानिसहरूले दैनिक रूपमा एआई एजेन्टलाई सुम्पिने काममा तिनको प्रदर्शन कस्तो छ भन्ने अध्ययन गर्नु यसको उद्देश्य हो।

व्यक्तिगत एआई सहायकहरू विकासकर्तामाझ लोकप्रिय भइरहेका बेला यो अनुसन्धान सार्वजनिक भएको हो। मेटा, ओपनएआई र एन्थ्रोपिकले क्रमशः म्युज, डट्स र क्लाउड डुएटमार्फत यस बजारमा आफ्नो हिस्सा बढाउन प्रतिस्पर्धा गरिरहेका छन्।

टेकक्रञ्चका अनुसार अक्टोबरमा मेटाले आफ्नो व्यक्तिगत एआई एजेन्ट म्युज सार्वजनिक भएको छ साताभित्र अमेरिका र क्यानडाका एक करोडभन्दा बढी मानिसले सेटअप गरेको जनाएको थियो। तीमध्ये करिब एक चौथाइले दैनिक रूपमा यसको प्रयोग गरिरहेका थिए। मेटाले म्युजलाई सिधै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा समावेश गर्ने तयारी गरेकाले यसको प्रयोगकर्ता संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। उपभोक्तामाझ लोकप्रियता बढ्दै गए पनि व्यक्तिगत एआई सहायक वास्तवमै कति विश्वसनीय छन् भन्ने विषयमा भने पर्याप्त प्रमाण उपलब्ध छैन।

सेलबेन्चको अनुसन्धानले दैनिक जीवनमा प्रयोग हुने विभिन्न डेटा स्रोतको अव्यवस्थित र अविश्वसनीय प्रकृतिले अत्याधुनिक एआई प्रणालीमा समेत समस्या सिर्जना गरिरहेको देखाएको छ। सफल एआई एजेन्टले इमेल, क्यालेन्डरका विवरण, स्प्रेडसिट, बिल, च्याट रेकर्ड, पुराना सूचना तथा फिसिङ प्रयासहरू समावेश भएका अव्यवस्थित व्यक्तिगत डिजिटल कार्यक्षेत्र व्यवस्थापन गर्न सक्नुपर्छ। साथै, कुन सूचना सान्दर्भिक छ, कुन निजी हो र नयाँ समस्या सिर्जना नगरी अनुरोधअनुसारको काम कसरी पूरा गर्ने भन्ने पनि पहिचान गर्न सक्नुपर्छ।

तर, अहिलेका धेरै एआई एजेन्ट अझै यस्तो काम गर्न सक्षम देखिएका छैनन्। सबैभन्दा राम्रो प्रदर्शन गर्ने एजेन्टहरूले समेत कार्यका आवश्यक सर्तहरू बारम्बार पूरा गर्न सकेनन्। तिनको प्रदर्शनमा एकरूपताको पनि अभाव देखियो।

अनुसन्धानकर्ताहरूले एउटै परिस्थितिमा प्रत्येक काम तीनपटक परीक्षण गर्दा सबैभन्दा बढी अंक प्राप्त गरेको ओपनएआईको जीपीटी–६ एस्ट्राले समेत तीनवटै प्रयासमा सफलतापूर्वक काम पूरा गरेको दर आधाभन्दा कम थियो।

कुनै मानवीय निगरानीबिना पृष्ठभूमिमा स्वचालित रूपमा काम गर्ने उद्देश्यले बनाइएका एआई सहायकका लागि यो गम्भीर समस्या हो। प्रयोगकर्ताले विश्वास गर्न सकिने नतिजा प्राप्त गर्न एउटै एजेन्टलाई पटकपटक काम दिनुपर्ने अवस्था आउनु यसको विश्वसनीयतामाथि प्रश्न हो।

यसका अतिरिक्त, अन्यथा सही रहेका प्रयासमध्ये करिब १० प्रतिशतले कम्तीमा एउटा सुरक्षा मापदण्ड पूरा गर्न सकेनन्। परीक्षण गरिएका विभिन्न मोडेल र हर्नेसमा एआई एजेन्टहरूले बालबालिकालाई विद्यालयबाट ल्याउनुपर्ने जिम्मेवारीलाई पर्याप्त ध्यान दिन नसकेको दर ७९.५ प्रतिशत थियो।

ल्यापटपको जिम्मेवारी हस्तान्तरणसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने क्रममा संवेदनशील बैंक अपलोड टोकन पहिचान गरी गोप्य राख्नुपर्ने सर्त १८.६ प्रतिशत प्रयासमा पूरा हुन सकेन। अर्को परीक्षणमा एआई एजेन्टहरूले एउटै बिलको दोहोरो वा गलत भुक्तानी गर्न सिफारिस गरेको दर ४०.३ प्रतिशत थियो।

यी निष्कर्षले उपभोक्ताले व्यक्तिगत एआई सहायक प्रयोग गर्दा सामना गर्नुपर्ने एउटा प्रमुख समस्या उजागर गरेका छन्। सामान्य अनुरोध पूरा गर्ने प्रयासमै एआई एजेन्टले नयाँ झन्झट सिर्जना गर्ने जोखिम सधैँ रहन्छ।

यसअघि एआई बेन्चमार्कहरू मुख्यतः कोडिङ, व्यावसायिक काम वा निश्चित कार्यमा आधारित परीक्षणमा केन्द्रित थिए। तर, सेलबेन्चले विभिन्न एआई एजेन्ट हर्नेसमा मोडेलहरूले धेरै चरण भएका व्यक्तिगत काम कसरी पूरा गर्छन् भन्ने मूल्याङ्कन गर्ने प्रयास गरेको छ। हर्नेस भनेको कुनै मोडेलले सूचना कसरी प्राप्त गर्छ, उपकरण कसरी प्रयोग गर्छ र कार्य कसरी अघि बढाउँछ भन्ने नियन्त्रण गर्ने सफ्टवेयर हो।

अनुसन्धानकर्ताहरूले समग्र प्रदर्शनमा हर्नेसको तुलनामा मोडेलको छनोटले बढी प्रभाव पार्ने पाएका छन्। तर, बढी सक्षम मोडेलहरूको हकमा भने एआई एजेन्टको प्रदर्शन हर्नेसमा बढी निर्भर देखिएको छ।

उदाहरणका लागि, पाई हर्नेसमा सञ्चालन गर्दा ओपनएआईको जीपीटी–६ एस्ट्राले एन्थ्रोपिकको क्लोड फेबल ५.२ भन्दा राम्रो प्रदर्शन गरेको थियो। तर, दुवै मोडेललाई क्लोड कोडमा परीक्षण गर्दा जीपीटी–६ एस्ट्राको प्रदर्शन कमजोर देखिएको थियो।

मेटाको म्युज वन्डर फुलले पाईमा ५६ प्रतिशत अंक प्राप्त गरेको थियो भने क्लाउड कोडमा यसको प्रदर्शन ३८.१ प्रतिशत मात्रै थियो। त्यस्तै, मेटाको म्युज वन्डर १.० ले परीक्षण गरिएका पाँचवटा हर्नेसमा औसत ३९.७ प्रतिशत सफलता दर हासिल गरेको थियो।

उल्लेखनीय कुरा के छ भने अनुसन्धानकर्ताहरूले मेटा, ओपनएआई र एन्थ्रोपिकका मोडेल परीक्षण गरे पनि तिनलाई क्रमशः म्युज, डट्स र क्लाउड डुएटका आफ्नै हर्नेसमा परीक्षण गरेका थिएनन्। त्यसैले यी नतिजाले अहिले ती उत्पादन प्रयोग गरिरहेका लाखौँ उपभोक्ताको वास्तविक अनुभवलाई पूर्ण रूपमा प्रतिनिधित्व नगर्न सक्छन्।

टेकक्रन्चले यस विषयमा मेटा, ओपनएआई, एन्थ्रोपिक र अनुसन्धानकर्ताहरूसँग प्रतिक्रिया मागेको छ।

Sajilo Visa
easy care