एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा
काठमाडौं ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँगको सम्बन्धका कारण चर्चामा आएकी चिनियाँ व्यवसायी एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनका ठूला एआई डेटा सेन्टरका लागि आवश्यक शक्तिशाली कम्प्युटिङ उपकरण धितो राखेर वित्तीय स्रोत जुटाएको पाइएको छ। रोयटर्सले समीक्षा गरेका यसअघि सार्वजनिक नभएका अभिलेखमा यस्तो विवरण भेटिएको हो।
चीनको केन्द्रीय बैंकका कागजातमा २७ करोड डलर मूल्यका ७६४ वटासम्म एआई सर्भर र मोड्युल तथा ती उपकरणलाई ठूलो कम्प्युटिङ नेटवर्कमा जोड्न प्रयोग हुने ३ करोड १० लाख डलर मूल्यका अन्य उपकरण उल्लेख छन्। यीमध्ये अधिकांश हार्डवेयर सांघाईस्थित विशाल डेटा सेन्टरमा रहेको देखाइएको छ। उक्त डेटा सेन्टर चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र सांघाईको सोङजियाङ जिल्ला सरकारबीचको रणनीतिक साझेदारीअन्तर्गत सुरु गरिएको एआई कम्प्युटिङ परियोजनासँग सम्बन्धित छ।
अभिलेखअनुसार एलिस हुआङको परिवार र उनीसँग सम्बन्धित व्यक्तिहरूका व्यवसायले चीनको एआई उद्योगलाई वित्तीय सहयोग र उपकरण उपलब्ध गराउन भूमिका खेलेका थिए। यसैबीच, अमेरिकाका अधिकारीहरूले सिंगापुरमा आधारित उनको कम्पनी मेगास्पिडले चिनियाँ ग्राहकलाई प्रतिबन्धित एनभिडिया प्रविधि प्राप्त गर्न सहयोग गरेको थियो कि थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेका थिए।
यी व्यवस्थाले चीनको एआई महत्वाकांक्षालाई आवश्यक पर्ने महँगा कम्प्युटिङ पूर्वाधारमा पहुँच प्राप्त गर्न कम्पनीहरूले कसरी वित्तीय स्रोत जुटाउन सक्छन् भन्ने पनि देखाउँछन्। उन्नत प्रोसेसरमा अमेरिकी प्रतिबन्धका कारण चिनियाँ प्रविधि कम्पनीहरूलाई आवश्यक हार्डवेयर जुटाउन कठिन भइरहेको समयमा यस्तो व्यवस्था भएको हो।
सोमबार अमेरिकी वाणिज्य मन्त्रालयले मेगास्पिडलाई व्यापार प्रतिबन्ध सूचीमा राखेको थियो। मेगास्पिडले कुनै गलत काम नगरेको दाबी गर्दै एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको जनाएको छ।
एलिस हुआङ यसअघि एनभिडिया प्रोसेसरको प्रमुख विदेशी खरिदकर्ता मेगास्पिडको नियन्त्रणमा थिइन्। यसै महिनाको सुरुमा पदबाट राजीनामा दिएका एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ ११ दिनपछि पुनः पदमा फर्किएका थिए। उनीसँगको एलिस हुआङको सम्बन्धले चीनसँग एनभिडियाको व्यावसायिक सम्बन्धमाथि थप निगरानी बढाएको छ।
तर, यी अभिलेखले सर्भरमा चीनमा निर्यात गर्न प्रतिबन्ध लगाइएका चिपहरू थिए भन्ने पुष्टि गर्दैनन्। साथै, ती उपकरण कहिले र कसरी चीन भित्रिएका थिए भन्ने विवरण पनि देखाउँदैनन्।
सयौँ सर्भरका लागि वित्तीय व्यवस्था
रोयटर्सका अनुसार वित्तीय स्रोत जुटाउने प्रमुख कम्पनीमध्ये सेन्चुरी लिटोङ पनि थियो। यो एनभिडियाको प्राथमिकताप्राप्त क्लाउड साझेदार हो, जसले ठूलो कम्प्युटिङ क्षमता आवश्यक पर्ने ग्राहकलाई शक्तिशाली सर्भर भाडामा उपलब्ध गराउँछ।
वित्तीय अभिलेखअनुसार सन् २०२४ मेदेखि डिसेम्बरसम्म ५ वटा लिज सम्झौतामार्फत ५१२ वटासम्म सर्भरका लागि वित्तीय व्यवस्था गरिएको थियो। ती सर्भरको घोषित मूल्य १ अर्ब ४२ करोड युआन अर्थात् २० करोड डलर थियो।
तीमध्ये चारवटा सम्झौतामा सांघाईस्थित याङ्त्से नदी डेल्टा एआई सुपरकम्प्युटिङ सेन्टरमा रहेका उपकरण उल्लेख छन्। यो डेटा सेन्टर परिसरको पूर्वाधार विकासकर्ता सांघाई लङरुई थियो। गेमिङ कम्पनी सेन्चुरी हुआतङको यसअघि लङरुईमा लगानी रहेको थियो। टेन्सेन्टसँग सेन्चुरी हुआतङको करिब १० प्रतिशत सेयर स्वामित्व छ।
जिल्ला सरकारको घोषणाअनुसार टेन्सेन्ट र सांघाईको सोङजियाङ जिल्ला सरकारले सन् २०२० मा संयुक्त रूपमा एआई कम्प्युटिङ सेन्टर विकास गर्न रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सन् २०२० जुनमा सार्वजनिक सेन्चुरी हुआतङको धितोपत्रसम्बन्धी विवरणमा सांघाई लङरुईलाई उक्त सेन्टर निर्माण र सञ्चालनमा टेन्सेन्टसँग सहकार्य गर्ने पूर्वाधार प्रदायकका रूपमा उल्लेख गरिएको थियो।
जेन्सु लेटाल इलेक्ट्रोनिक्सले सन् २०२३ मा सार्वजनिक गरेको विवरणमा याङ्त्से नदी डेल्टा एआई सेन्टरलाई सेन्चुरी लिटोङको सर्भर भाडा व्यवसाय सञ्चालन हुने स्थानका रूपमा उल्लेख गरेको थियो।
टेन्सेन्टका एक प्रवक्ताले भने, “टेन्सेन्टले सम्बन्धित डाटा सेन्टर पूर्वाधारको विकास गरेको वा सहविकास गरेको होइन।”
प्रवक्ताका अनुसार टेन्सेन्टले याङ्त्से नदी डेल्टा डेटा सेन्टर परियोजनाको कहिल्यै स्वामित्व लिएको वा सञ्चालन गरेको छैन। उक्त परियोजनामा आफ्नो नाम र ट्रेडमार्क अनुमति नलिई प्रयोग गरिएको पनि टेन्सेन्टले जनाएको छ। साथै, मेगास्पिड वा यसका सहायक कम्पनीसँग कुनै व्यावसायिक सम्बन्ध नरहेको पनि उसले स्पष्ट पारेको छ।
रोयटर्सले पहिचान गरेका ती सर्भर टेन्सेन्टले खरिद गरेको, भाडामा लिएको वा सञ्चालन गरेको भन्ने कुरा पनि अभिलेखले पुष्टि गर्दैनन्।
एउटा सम्झौतामा उक्त डाटा सेन्टरमा रहेका १२८ वटा सर्भर उल्लेख छन्। प्रत्येक सर्भरमा आठवटा ग्राफिक्स प्रोसेसर थिए। यसअनुसार कुल १ हजार २४ वटा चिप थिए। ती सर्भरको कम्प्युटिङ क्षमता ९८९ पेटाफ्लप्स रहेको र प्रत्येकको मूल्य ४ लाख ५० हजार डलरसम्म रहेको उल्लेख छ।
अर्को कारोबारमा ५ करोड ७० लाख डलर मूल्यका १२८ वटा सर्भर समावेश थिए। चीनको सरकारी समर्थन प्राप्त उड्डयन तथा रक्षा क्षेत्रको समूह एभिकको एक इकाइले ती सर्भरका लागि वित्तीय व्यवस्था गरेको थियो र सेन्चुरी लिटोङलाई भाडामा उपलब्ध गराएको थियो।
यस्ता व्यवस्थाले कम्पनीहरूलाई महँगा कम्प्युटर खरिद गर्दा सुरुमै सम्पूर्ण रकम भुक्तानी नगरी प्रयोग गर्न सक्ने सुविधा दिन्छन्।
अर्को छुट्टै उपकरण सूचीमा सांघाईस्थित उक्त केन्द्रमा १० हजारभन्दा बढी एनभिडिया कनेक्टएक्स–७ नेटवर्किङ कार्ड र ७३० वटा ब्लुफिल्ड–३ युनिट रहेको उल्लेख छ। यी उपकरण एआईसम्बन्धी कामका लागि ठूलो संख्यामा कम्प्युटरलाई एकआपसमा जोड्न प्रयोग गरिन्छन्।
उपकरण निर्माता लेटाल इलेक्ट्रोनिक्सले सन् २०२३ मा सेन्चुरी लिटोङमा लगानी गरेको थियो र सन् २०२४ को मध्यसम्ममा कम्पनीको पूर्ण स्वामित्व लिएको थियो। कम्पनीले सार्वजनिक गरेका विवरणमा वित्तीय संस्थासँग सेन्चुरी लिटोङले गरेका उपकरण लिज सम्झौताका लागि लेटालले उपलब्ध गराएका जमानतको विवरण पनि छ।
एनभिडिया, सेन्चुरी लिटोङ, सेन्चुरी हुआतङ, सांघाई लङरुई, लेटाल र एभिकले टिप्पणीका लागि पठाइएका अनुरोधको जवाफ दिएनन्। सांघाईको सोङजियाङ जिल्ला सरकारले पनि फ्याक्समार्फत पठाइएको टिप्पणीको अनुरोधमा तत्काल जवाफ दिएन।