एआई विकास र अत्यावश्यक वस्तुको आपूर्तिमा अष्ट्रेलिया–सिङ्गापुर सहकार्य
काठमाडौं ।
अष्ट्रेलिया र सिंगापुरले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति गरेका छन्।
मंगलबार क्यानबेरास्थित संसद् भवनमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले उक्त सहमति सार्वजनिक गरेका हुन्।
भेटवार्ताका क्रममा दुवै देशले एआई प्रविधिको विकास, प्रयोग तथा यससम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय सुशासन निर्माणमा सहकार्य गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री अल्बानिजले एआईसम्बन्धी क्षेत्रीय तथा विश्वव्यापी नीति निर्माणमा दुवै देशले संयुक्त रूपमा योगदान पु¥याउने बताउँदै उक्त प्रविधि मानव नियन्त्रण र निगरानीभित्र रहने सुनिश्चित गर्नु सहकार्यको महत्वपूर्ण उद्देश्य रहेको उल्लेख गरे।
यसैगरी, दुवै देशले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थासम्बन्धी नयाँ समझदारीपत्र (एमओयू) मा पनि हस्ताक्षर गरेका छन्। उक्त समझदारीले यसअघि जुलाईमा भएको इन्धन आपूर्ति व्यवस्थालाई विस्तार गर्दै खाद्यान्न, औषधि तथा चिकित्सा सामग्रीलाई समेत समेटेको छ।
सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले नयाँ व्यवस्थाले भविष्यमा आपूर्ति शृङ्खलामा उत्पन्न हुन सक्ने अवरोधको सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले दुवै देशबीच कायम विश्वास र कठिन परिस्थितिमा समेत व्यापार खुला राख्दै आपूर्ति शृङ्खलालाई लचिलो तथा भरपर्दो बनाउने साझा प्रतिबद्धता यस सहमतिमा प्रतिबिम्बित भएको बताए।
यसअघि तेल आपूर्ति संकटलाई मध्यनजर गर्दै सिंगापुर–अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत जुलाईमा भएको व्यवस्थामा आपूर्ति अवरोधका समयमा पनि इन्धन तथा ग्यासको व्यापार निरन्तर कायम राख्ने सहमति गरिएको थियो।
नयाँ समझदारीले दुई देशबीचको सहकार्यलाई इन्धन तथा ग्यासमा मात्र सीमित नराखी खाद्यान्न, औषधि र चिकित्सा सामग्रीसम्म विस्तार गरेको छ। यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत हुनुका साथै क्षेत्रीय आपूर्ति शृङ्खलाको स्थायित्व र आर्थिक सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।–रासस