पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन
काठमाडौं ।
पोखरा विश्वविद्यालयले २९औँ दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै आगामी मंसिर ५ गतेदेखि पुस ५ गतेसम्म अनलाइन फाराम भर्न सकिने जनाएको छ।
विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन्।
तर २०८२ साल माघ २४ गते (७ फेब्रुअरी २०२६) पछि ट्रान्सक्रिप्ट जारी भएका विद्यार्थीले मात्रै यस समारोहमा सहभागी हुन पाउनेछन्। साथै, दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीले २०८३ साल मंसिर २९ गते (१५ डिसेम्बर २०२६) सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेको हुनुपर्नेछ।
आवेदनका लागि विद्यार्थीले पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट exam.pu.edu.np मा गई अनलाइन फाराम भर्नुपर्नेछ। फारामसँगै १.१×१.४ इन्च आकारको फोटो, नागरिकताको प्रमाणपत्र र ट्रान्सक्रिप्टको रंगीन स्क्यान प्रतिलिपि अपलोड गर्नुपर्नेछ।
दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले दीक्षान्त प्रमाणपत्र शुल्कबापत ५ हजार रुपैयाँ र दीक्षान्त पोसाक धरौटीबापत २ हजार ५०० रुपैयाँ गरी जम्मा ७ हजार ५०० रुपैयाँ अनलाइन पोर्टलमार्फत बुझाउनुपर्नेछ।
विद्यार्थीले बुझाएको धरौटी रकमबाट ३०० रुपैयाँ पोसाकको मर्मतसम्भार शुल्क कट्टा गरी बाँकी २ हजार २०० रुपैयाँ फिर्ता गरिने विश्वविद्यालयले जनाएको छ। धरौटी रकम फिर्ता लिन विद्यार्थीले आफ्नै नामको बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ।
अनलाइन फाराममा नेपाली र अंग्रेजी दुवै भाषामा नाम नागरिकताअनुसार भर्नुपर्नेछ। फाराममा उल्लेखित विवरणका आधारमा प्रमाणपत्र तयार हुने भएकाले विवरण गलत भए त्यसको जिम्मेवारी स्वयं विद्यार्थीले लिनुपर्ने सूचनामा उल्लेख छ।
दीक्षान्त समारोहको मिति, समय र स्थान तथा पोसाक वितरण र फिर्तासम्बन्धी थप जानकारी विश्वविद्यालयको वेबसाइटमार्फत पछि प्रकाशित गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।