एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ
काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित सङ्ख्याका प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन्।
बिहीबार जेनेभामा आयोजित ‘राइट्सएक्स समिट’ मा सम्बोधन गर्दै टर्कले विश्वको अधिकांश एआई कम्प्युटिङ क्षमता, तथ्याङ्क र पूर्वाधार केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको बताए। विश्वका पाँच प्रविधि कम्पनीले ७० प्रतिशतभन्दा बढी एआई कम्प्युटिङ क्षमताको स्वामित्व राख्नु लोकतान्त्रिक सहभागिताको दृष्टिले गम्भीर विषय भएको उनको भनाइ थियो।
‘भविष्यको प्रविधिलाई हामी मध्ययुगीन शैलीमा शासन गरिरहेका छौँ, जहाँ केही सीमित व्यक्तिको नियन्त्रण छ र निगरानी, सन्तुलन, सहभागिता तथा जवाफदेहिताको अभाव छ,’ उनले भने।
एआईको अनियन्त्रित प्रयोगले सर्वसाधारणको अधिकार र स्वतन्त्रता प्रभावित हुन सक्ने उनले बताए। एआईले सार्वजनिक बहसलाई प्रभावित पार्नुका साथै पक्षपाती एल्गोरिदमले ठूलो स्तरमा विभेद र अन्यायलाई निरन्तरता दिन सक्ने उनको चेतावनी थियो।
यातायात, खाद्य आपूर्ति र स्वास्थ्य सेवाजस्ता महत्त्वपूर्ण क्षेत्र डिजिटल प्रविधिमा निर्भर हुँदै गएको उल्लेख गर्दै उहाँले एआईको गलत प्रयोगले कुनै समुदाय वा देशको महत्त्वपूर्ण पूर्वाधार अवरुद्ध गर्न सक्ने बताए।
टर्कले एआईको विकास र प्रयोगलाई मानवअधिकार केन्द्रित नियमनको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले प्रमुख एआई कम्पनीहरूलाई प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न पत्राचार गरेको जानकारी दिए।
दूध बजारसम्म पुर्याउन विभिन्न परीक्षण र नियमन आवश्यक भएजस्तै सम्भावित जोखिमका कारण एआईमा पनि नियमन अपरिहार्य रहेको उहाँको भनाइ थियो। एआई मोडेलको तालिममा मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई आधार बनाउनुपर्ने सुझावसमेत उनले दिएका छन्।-रासस