अमेरिकीहरुले सबैभन्दा बढी कुन सामाजिक सञ्जाल प्रयोग गर्छन्? यस्तो छ तथ्य
काठमाडौं ।
अमेरिकामा सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जालको सूचीमा युट्युब पहिलो नम्बरमा रहेको छ। त्यसपछि दोस्रो फेसबुक र तेस्रोमा इन्स्टाग्राम रहेका छन्।
अमेरिकी अनुसन्धान संस्था प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। उक्त प्रतिवेदनमा अमेरिकी नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्ने अवस्था र विभिन्न मानिसहरुको समुहबीचको भिन्नताको ब्याख्या गरिएको छ।
सन् २०२६ को प्रतिवेदन अनुसार धेरै प्रयोगका कारण तीनवटै सामाजिक संजालले आफ्नो स्थान कायम राखेका छन्।
६५ वर्ष वा सो भन्दा बढी उमेरका अमेरिकी नागरिक पनि सबैभन्दा बढी प्रयोग गर्ने सामाजिक संजालमा युट्युब, फेसबुक, इन्स्टाग्राम नै हुन्।
समग्रमा हेर्दा उमेर, लिंग, पारिवारिक आम्दानी र राजनितिक झुकावका आधारमा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रवृतिमा उल्लेखनिय भिन्नता देखिएको छ।
स्न्यापच्याट र ह्वाट्सएपको प्रयोग बढ्दै
सञ्चारमा केन्द्रित एपहरुले पनि अमेरिकी समाजमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्।
एक वर्ष अघिको तुलनामा स्न्यापच्याट र ह्वाट्सएपको प्रयोगमा एक एक प्रतिशत पोइन्टले बढेको छ।
स्न्यापच्याट अमेरिकी महिलामाझ अझ लोकप्रिय रहेको छ। तंथ्याकअनुसार ३० प्रतिशत महिलाले उक्त प्लेटर्फ प्रयोग गर्ने गर्दछन् भने पुरुषको प्रयोग दर २१ प्रतिशत रहेको छ।
ह्वाट्सएप प्रयोग गर्ने अमेरिकी पुरुषहरुको प्रतिशत महिलाको तुलनामा बढी पुगेको छ। गत वर्षको तुलनामा यसमा परिवर्तन आएको हो।
पारिवारिक आम्दानीअनुसार प्रयोगमा भिन्नता
प्रतिवेदनले अमेरिकी परिवारको आर्थिक अवस्थाअनुसार सामाजिक सञ्जाल प्रयोग गर्ने प्रवृत्तिमा पनि भिन्नता रहेको देखाएको छ।
वार्षिक आम्दानी ७० हजार अमेरिकी डलरभन्दा कम भएका परिवारमा स्न्यापच्याटको प्रयोग बढी देखिएको छ।
त्यसको विपरीत, वार्षिक आम्दानी कम्तीमा एक लाख अमेरिकी डलर भएका परिवारका ४० प्रतिशत अमेरिकीले ह्वाट्सएप प्रयोग गर्ने गरेका छन्। यो उक्त प्लेटफर्मको सबैभन्दा उच्च प्रयोगदर हो।
सामाजिक सञ्जालको प्रयोगमा आर्थिक समूहअनुसार उल्लेखनीय भिन्नता देखिन्छ।
फेसबुक र टिकटक कम आम्दानी भएका परिवार बढी देखिएका छन् भने लिंक्डइनमा उच्च आम्दानी भएका परिवारका प्रयोगकर्ता बढी आकर्षित भएका छन्।
नेक्स्टडोरमा कम र बढी आम्दानी भएका परिवारबीच ठूलो अन्तर
टेलिग्राफका अनुसार, आर्थिक असमानता झल्काउने अर्को प्लेटफर्म नेक्स्टडोर हो। प्यु रिसर्च सेन्टरको वार्षिक प्रतिवेदनमा तुलनात्मक रूपमा पछिल्लो समय समावेश गरिएको यो प्लेटफर्मको प्रयोग पछिल्लो पाँच वर्षमा पाँच प्रतिशत पोइन्टले बढेको छ।
वार्षिक आम्दानी ३० हजार अमेरिकी डलर वा सोभन्दा कम भएका परिवारमा बस्ने अमेरिकीमध्ये केवल ९ प्रतिशतले मात्रै नेक्स्टडोर प्रयोग गर्छन्। तर वार्षिक आम्दानी एक लाख अमेरिकी डलरभन्दा बढी भएका परिवारमा यसको प्रयोगदर २३ प्रतिशत पुगेको छ।
प्रतिवेदनको तथ्याङ्कले अमेरिकामा सामाजिक सञ्जालको प्रयोग उमेर र लिङ्गमा मात्रै निर्भर नरहेको देखाएको छ। प्रयोगकर्ताको आर्थिक अवस्थाले पनि सामाजिक सञ्जाल छनोट गर्ने प्रवृत्तिलाई प्रभाव पार्ने गरेको छ।