अटो टेक

टेस्लाले जर्मनीको संकटग्रस्त अटो क्षेत्रलाई ३.३ अर्ब डलरको साइबरक्याब लगानीमार्फत टेवा दिने

टेस्लाले जर्मनीको संकटग्रस्त अटो क्षेत्रलाई ३.३ अर्ब डलरको साइबरक्याब लगानीमार्फत टेवा दिने
फाइल फोटो
Global IME Bank

टेस्लाले जर्मनीस्थित आफ्नो गिगाफ्याक्ट्रीमा ३ अर्ब यूरो (३.३ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। जर्मनीका अन्य कार निर्माता कम्पनीले उत्पादन र कर्मचारी संख्या घटाइरहेका बेला एलन मस्कको विद्युतीय कार कम्पनीले साइबरक्याब मोडेलको उत्पादन विस्तार गर्ने योजना अघि बढाएको हो।

बर्लिननजिकैको ग्रुनहाइडमा थप उत्पादन केन्द्र निर्माण गर्ने योजनाले टेस्लाको युरोपस्थित एकमात्र कारखानालाई उत्पादन क्षमताका आधारमा जर्मनीकै सबैभन्दा ठूलो कार कारखाना बनाउन सक्छ। यसले फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्य कारखानालाई पनि उछिन्नेछ।

जर्मनीको कार उत्पादन क्षेत्रमा टेस्ला वृद्धि भइरहेको थोरै कम्पनीमध्ये एक बनेको छ। चिनियाँ कम्पनीसँगको प्रतिस्पर्धा बढ्दै गएपछि जर्मनीका प्रमुख कार निर्माता फक्सवागन, मर्सिडिज बेन्ज र बीएमडब्ल्यूले कर्मचारी कटौती गरिरहेका छन् र कारखाना बन्द गर्नेबारे पनि विचार गरिरहेका छन्।

यद्यपि, जर्मनीमा टेस्लाले सहज वातावरण पाएको छैन। ग्रुनहाइड कारखानाविरुद्ध वातावरण संरक्षणसम्बन्धी विरोध प्रदर्शन भएका छन् भने देशको प्रभावशाली उत्पादन क्षेत्रको मजदुर युनियनसँग पटक–पटक विवाद भएको छ। पछिल्लो विस्तार योजनाको मुख्य आधार बन्ने भनिएको साइबरक्याब मोडेलको सम्भावनाबारे पनि प्रश्न उठिरहेका छन्।

२०२९ देखि उत्पादन सुरु गर्ने योजना

टेस्लाले दिएको जानकारीअनुसार ग्रुनहाइडमा वार्षिक १० लाखसम्म साइबरक्याब रोबोट्याक्सी उत्पादन गर्ने लक्ष्य राखेको छ। यद्यपि, यो मोडेल अहिलेसम्म कुनै पनि बजारमा व्यावसायिक रूपमा ठूलो परिमाणमा बिक्री नभएको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले यस परियोजनाका लागि भवन निर्माण अनुमति लिन आवश्यक आवेदन यस वर्षको अन्त्यअघि नै पेस गर्ने जनाएको छ। निर्माण कार्य सन् २०२७ को पहिलो छ महिनामा सुरु गर्ने र सन् २०२९ देखि उत्पादन थाल्ने योजना छ।

टेस्लाले ग्रुनहाइड कारखानामा थप रोजगारी सिर्जना गर्ने पनि जनाएको छ। निर्माण र उत्पादन योजनाको पहिलो चरणका लागि केही सय नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरिएको छ।

जर्मनीको कार उद्योगका लागि यो लगानी आवश्यक सकारात्मक समाचार भएको स्वीकार गर्दै अटो क्षेत्रका विश्लेषक म्याथियास स्मिटले भने यसबारे केही प्रश्न बाँकी रहेको बताए।

उनले भने, “यो लगानीको कति हिस्सा दीर्घकालीन र दिगो रोजगारी सिर्जना गर्न प्रयोग हुन्छ र कति हिस्सा कम श्रमशक्ति चाहिने स्वचालित काममा खर्च हुन्छ भन्ने कुरा जर्मनीले सोध्नुपर्छ।”

Sajilo Visa
easy care