चिनियाँ एआई कम्पनीहरू यसकारण सक्रिय हुन थाले एनभिडिया चिपको क्षमता सुरक्षित गर्न
काठमाडौं ।
चिनियाँ कृत्रिम बुद्धिमत्ता कम्पनीहरूले चीनबाहिरका डनटा सेन्टरमा उपलब्ध एनभिडियाका चिपमा आधारित कम्प्युटिङ क्षमता भाडामा लिन खोजिरहेका छन्। अमेरिकी चिप निर्माता कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग जोडिएको विवादका कारण अमेरिकाले उन्नत प्रोसेसरको टाढाबाट प्रयोग गर्नेसम्बन्धी प्रतिबन्ध थप कडा बनाउन सक्ने आशंकामा उनीहरू यस्तो प्रयासमा लागेको यस विषयमा जानकार तीन व्यक्तिले बताएका छन्।
यी गतिविधिले अमेरिकी निर्यात नियन्त्रणको व्यवस्थामा रहेको सम्भावित कमजोरी बन्द हुन सक्ने चिन्ता चिनियाँ प्रविधि कम्पनीहरूमा बढेको देखाउँछन्। महत्त्वपूर्ण प्रविधि क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्न अमेरिकाले एनभिडियाका सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्तासम्बन्धी चिप चीनमा निर्यात गर्न प्रतिबन्ध लगाएको छ। तर, चिनियाँ कम्पनीहरूले विदेशमा रहेका डेटा सेन्टरबाट कम्प्युटिङ क्षमता भाडामा लिएर ती प्रोसेसर टाढैबाट प्रयोग गर्न सक्छन्।
यस विषयमा जानकार व्यक्तिहरूका अनुसार चीनको एक प्रमुख क्लाउड सेवा प्रदायक कम्पनीले विदेशमा उपलब्ध एनभिडिया चिपको कम्प्युटिङ क्षमता अग्रिम रूपमा सुरक्षित गर्ने विषयमा आन्तरिक छलफल गरेको छ। त्यस्तै, केही कम्पनीले डेटा सेन्टर सञ्चालकहरूसँग सम्पर्क गरेर उक्त क्षमता आरक्षित गर्न आग्रह गरेका छन्। विषय संवेदनशील भएकाले ती व्यक्तिहरूले आफ्नो र सम्बन्धित क्लाउड कम्पनीको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन्।
टेकक्रञ्चका अनुसार साना एआई अनुसन्धान कम्पनीहरूले पनि यस्तै कदम चाल्ने विषयमा विचार गरिरहेका छन्। उनीहरूले दक्षिणपूर्वी एसियामा भाडामा कम्प्युटिङ क्षमता उपलब्ध गराउने ठूला सेवा प्रदायकसँग सम्पर्क गर्ने सम्भावना खोजिरहेका छन्।
हुआङसँग जोडिएको विवादले अमेरिकी विधेयक ‘रिमोट एक्सेस सेक्युरिटी एक्ट’ (रासा) लाई राजनीतिक समर्थन बढाउन सक्ने चिन्ता ती कम्पनीहरूलाई छ। उक्त विधेयकले अमेरिकी वाणिज्य मन्त्रालयलाई प्रतिबन्धित प्रविधिमा क्लाउडमार्फत टाढाबाट गरिने पहुँच नियमन गर्ने अधिकार दिनेछ।
अमेरिकी प्रतिनिधिसभाले गत जनवरीमा ३६९–२२ मतले उक्त विधेयक पारित गरेको थियो। अहिले यो विधेयक सिनेटको निर्णयको प्रतीक्षामा छ।
एनभिडियाका उन्नत प्रोसेसरहरू च्याटबोट र अन्य जेनेरेटिभ एआई उत्पादनमा प्रयोग हुने ठूला एआई मोडलको प्रशिक्षण तथा सञ्चालनमा प्रयोग गरिन्छन्। विदेशमा रहेका क्लाउड सेवामार्फत यी चिप प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएमा चिनियाँ विकासकर्ताहरूलाई प्रत्यक्ष रूपमा चिप आयात नगरी उच्च क्षमताको कम्प्युटिङ सुविधा प्राप्त गर्न कठिन हुनेछ।
हुआङले आइतबार आफ्नी श्रीमतीप्रति आफू इमानदार नरहेको स्वीकार गरेका थिए। न्युयोर्क टाइम्सले सम्बन्धित महिला एलिस हुआङ भएको र उनी सिंगापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी रहेको समाचार प्रकाशित गरेको थियो। अमेरिकी अधिकारीहरूले उनलाई चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित व्यक्ति भएको निष्कर्ष निकालेको पनि समाचारमा उल्लेख थियो।
रोयटर्सले उक्त आरोपको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। चीनले भने उक्त आरोप अस्वीकार गरेको छ।
यस विषयमा जानकारहरुका अनुसार एलिस हुआङको चीनका प्रमुख प्रविधि कम्पनी टेन्सेन्ट र अलिबाबासहितका कम्पनीसँग व्यावसायिक कारोबार तथा लगानीसम्बन्धी सम्बन्ध थियो। टेन्सेन्ट र अलिबाबाले यसबारे टिप्पणीका लागि गरिएका अनुरोधको तत्काल जवाफ दिएनन्।
रोयटर्सले हेरेका अभिलेखअनुसार सिंगापुरका व्यावसायिक दर्तासम्बन्धी कागजातमा अलिबाबाको सहायक कम्पनी एपेक्स इन्टरप्राइज सोलुसन्सले मलेसियाको कम्पनी स्पिडम्याट्रिक्सलाई वित्तीय सहयोग उपलब्ध गराएको देखिन्छ। स्पिडम्याट्रिक्सको सम्बन्ध मेगास्पिडसँग रहेको छ।
मेगास्पिडमाथि अमेरिकी निर्यात नियन्त्रणमा रहेका एनभिडियाका उन्नत चिपमा चिनियाँ ग्राहकलाई पहुँच उपलब्ध गराउन सहयोग गरेको आशंकामा अनुसन्धान तथा निगरानी भइरहेको छ। तर, कम्पनीले गैरकानुनी रूपमा चिप चीन पठाएको आरोप अस्वीकार गरेको छ।
एनभिडिया, मेगास्पिड र अमेरिकी वाणिज्य मन्त्रालयले यसबारे टिप्पणीका लागि गरिएका अनुरोधको तत्काल जवाफ दिएनन्।
अवैध बजारमा चिप खरिद बढ्दै
प्रतिबन्ध कार्यान्वयन थप कडा हुन सक्ने सम्भावनाले चीनको अवैध बजारमा प्रतिबन्धित एनभिडिया एआई चिपको माग पनि बढाएको छ। यसका कारण व्यापारी तथा बिचौलियाहरूले ती प्रोसेसर भण्डारण गर्न थालेको यस विषयमा जानकार दुई व्यक्तिले बताएका छन्।
उनीहरूका अनुसार उन्नत चिप र एआई सर्भर चीनमा तस्करी गर्ने गतिविधिविरुद्ध अमेरिकाले व्यापक कारबाही गर्न सक्ने चिन्ता खरिदकर्ताहरूमा छ।
अमेरिकाको निर्यात प्रतिबन्धको सूचीमा रहेको चिनियाँ जनमुक्ति सेनासँग निकट सम्बन्ध भएको एउटा विश्वविद्यालयले गत महिना एनभिडियाका शक्तिशाली एच२०० एआई चिप खरिद गरेको थियो। खरिदसम्बन्धी अभिलेखले यस्तो देखाएको हो। यस घटनाले उन्नत प्रविधिमा चीनको पहुँच रोक्ने अमेरिकी प्रयासमा रहेका कमजोरी उजागर गरेको छ।
अमेरिकी अभियोजनकर्ताहरूले गत मार्चमा सुपर माइक्रो कम्प्युटरका सहसंस्थापक यी-श्यान ‘वाली’ लिआउ र अन्य दुई व्यक्तिविरुद्ध एनभिडिया चिप जडित सर्भर दक्षिणपूर्वी एसियामा आधारित एउटा कम्पनीमार्फत चीन पठाउने षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरेका थिए।
अभियोजनकर्ताहरूका अनुसार उक्त कम्पनीले सन् २०२४ देखि २०२५ सम्म सुपर माइक्रोबाट करिब २ अर्ब ५० करोड डलरका सर्भर खरिद गरेको थियो। तीमध्ये ठूलो हिस्सा चीन पठाइएको उनीहरूको दाबी छ। तर, आरोपितहरू अहिलेसम्म दोषी ठहर भएका छैनन्।