ताजा समाचार

डिजिटल लतविरुद्ध इयुको नयाँ नियम

डिजिटल लतविरुद्ध इयुको नयाँ नियम
Global IME Bank

अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समय अल्झाउने र अनावश्यक खर्च गराउने सुविधामाथि नियन्त्रण गर्न युरोपेली सङ्घ (इयु) ले नयाँ नियम ल्याउने भएको छ। प्रस्तावित नियमले भ्रामक विज्ञापन, अनलाइन खेल र कारोबारमा पारदर्शिता बढाउँदै प्रयोगकर्तालाई डिजिटल लत लगाउने सुविधा बन्द गर्न सहज बनाउनेछ।

‘डिजिटल फेयरनेस एक्ट’ नामक प्रस्तावित कानूनअनुसार नियम उल्लङ्घन गर्ने ठूला कम्पनीलाई वार्षिक कारोबारको छ प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ। प्रयोगकर्तालाई झुक्याएर खरिद वा सेटिङ परिवर्तन गर्न लगाउने अभ्यासमा प्रतिबन्ध लगाउनुका साथै प्रभावशाली व्यक्तिमार्फत गरिने विज्ञापन स्पष्ट खुलाउनुपर्नेछ।

बालबालिकालाई अनलाइन खेलमा पैसा खर्च गरेर जित्ने सुविधा दिन रोक लगाइने र खेलभित्र प्रयोग हुने भर्चुअल मुद्राको वास्तविक मूल्य देखाउनुपर्ने प्रस्ताव छ। निःशुल्क परीक्षण अवधि सकिनुअघि शुल्कबारे जानकारी दिनुपर्ने तथा माग गरेमा मानव ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गर्न पाउने व्यवस्था पनि गरिनेछ।

इयुका अनुसार अनुचित डिजिटल अभ्यासबाट उपभोक्ताले वार्षिक एक हजार तीन अर्ब युरोसम्म गुमाउने गरेका छन् । लोकप्रिय अनलाइन प्लेटफर्ममध्ये ९७ प्रतिशतले प्रयोगकर्तालाई झुक्याउने खालका अभ्यास अपनाएको उपभोक्ता संरक्षण प्रमुख माइकल म्याकग्राले बताए।

यद्यपि, प्रस्तावित नियम पर्याप्त नभएको भन्दै आलोचना पनि भएको छ। फाइनान्स वाचले जोखिमपूर्ण लगानी प्रवद्र्धन गर्न प्रभावशाली व्यक्तिको प्रयोग रोक्ने पर्याप्त व्यवस्था नभएको जनाएको छ। उपभोक्ता अधिकारकर्मीहरूले भने नियम प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । रासस\एएफपी

Sajilo Visa
easy care