ताजा समाचार

इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने

इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना  लागू गर्ने
Global IME Bank

युरोपेली सङ्घ (इयू) ले विद्यालयका बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्रको परीक्षण सुरु गर्ने योजना बनाएको बिहीबार जनाएको छ।

द्रूत गतिमा विकास भइरहेको प्रविधिको शिक्षामाथिको प्रभावलाई सम्बोधन गर्ने प्रयासको अंशका रूपमा यो कदम चालिएको हो।

“यसले साना विद्यार्थीहरूलाई एआई कसरी काम गर्छ भन्ने बुझ्न, यसले दिएको जानकारी जाँच्न, हेरफेर पहिचान गर्न र कहिले बन्द गर्ने भन्ने जान्न सहयोग गर्नेछ,” युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना मिन्जाटुले भनिन्।

ब्रसेल्सले १५ वर्षका विद्यार्थीका लागि सन् २०२७/२०२८ शैक्षिक सत्रदेखि नयाँ शैक्षिक  कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ।

विश्वभरका शिक्षक र विद्यार्थीहरू कक्षाकोठामा कृत्रिम बुद्धिमत्ताको प्रभावसँग जुधिरहेका बेला यो कदम आएको हो।

इयूले आफ्ना २७ सदस्य राष्ट्रहरूको शिक्षा नीतिमाथि नियन्त्रण राख्दैन। तर उसले बालबालिकालाई सुरक्षित रूपमा एआई प्रयोग गरी पढाउने उपाय खोज्ने प्रयासहरूलाई पहिलेदेखि नै समर्थन गर्दै आएको छ।

यससँगै ब्रसेल्सले किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने कानुन पनि अगाडि बढाइरहेको छ ।

मिन्जाटुले यी दुई पहलहरू एकअर्कासँग बाझिने खालका नभएको जोड दिइन्।

“एआईले ‘ट्युटोरिङ’, व्यक्तिगत सिकाइ केही शैक्षिक प्रक्रियाहरूलाई साँच्चिकै बढावा दिन सक्छ”, उनले भनिन, “प्रविधि र एआई प्रयोग गर्ने यी तरिकाहरू प्लेटफर्महरूका लत लाग्ने एल्गोरिदमसँग कुनै सम्बन्ध राख्दैनन्।” रासस/एएफपी

Sajilo Visa
easy care