काठमाडौं ।
क्वालकमले अमेरिकामा स्टारलिंक मोबाइलको स्थलीय नेटवर्क विकास गर्न स्पेसएक्ससँग सहकार्य गरिरहेको घोषणा गरेको छ।
कम्पनीले आफ्नो नेटवर्कका लागि क्वालकम ड्रागनविङ्ग क्यूआरयू १०० क्यूडियु१०० र्यान (Qualcomm Dragonwing QRU100 र QDU100 RAN) प्लेटफर्महरू तथा ‘लेयर १’ सफ्टवेयरको प्रयोग गर्नेछ।
क्वालकमका अनुसार, ‘ओपन’ र ‘भर्चुअल’ र्यान प्रयोगका लागि डिजाइन गरिएका यी ५जी रेडियो चिपहरूले उच्च क्षमताको ‘म्यासिम मिमो’ रेडियो र बेसबेन्ड प्रविधिलाई ऊर्जा-कुशल प्रशोधन क्षमतासँग जोड्छन्, जसले ठूलो परिमाणमा सेलुलर बेस स्टेशनहरू स्थापना गर्न मद्दत पुर्याउँछ।
क्वालकमले जनाए अनुसार, स्पेसएक्ससँग मिलेर निर्माण गरिने स्थलीय सञ्जालले “स्टारलिंकको स्याटेलाइट क्षमताहरूलाई परिपूरकको रूपमा सघाउनेछ।” यसको सुरुवात आगामी वर्षदेखि हुने योजना छ। धेरै वर्षसम्म चल्ने यो सम्झौताको आर्थिक सर्तहरू भने सार्वजनिक गरिएको छैन।
क्वालकमका कार्यकारी उपाध्यक्ष दुर्गा मल्लाडीले एक विज्ञप्तिमा भनेका छन्, “हामी स्पेसएक्ससँग मिलेर संयुक्त राज्य अमेरिकामा विश्वस्तरीय सेलुलर पूर्वाधार निर्माण गर्दैछौं। यसले आज ५जी प्रविधिलाई अघि बढाउनुका साथै आगामी वर्षहरूमा ‘एआई-नेटिभ सिक्जी’ को जग बसाल्ने अवसर पनि प्रदान गर्नेछ।”
अहिले स्पेसएक्स ठूला मोबाइल सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गर्नका लागि स्पेक्ट्रम खरिद गरिरहेको छ र विभिन्न साझेदारीहरू अघि बढाइरहेको छ। गत महिना, कम्पनीले ८०० मेगाहर्ज ब्यान्डमा राष्ट्रव्यापी स्पेक्ट्रम पोर्टफोलियो खरिद गर्ने सम्झौताको घोषणा गर्यो। यो समाचारले अमेरिकी मोबाइल सेवा प्रदायकहरूको सेयर मूल्यमा ठूलो हलचल ल्यायो।
यसै साताको सुरुमा, वासिङ्टन पोस्टले स्पेसएक्सले इकोस्टार को ‘बुस्ट मोबाइल’ अधिग्रहण गर्न वार्ता गरिरहेको जनाएको छ।
प्रकाशित: २१ कार्तिक २०८३, शनिबार