वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल बनाउन भन्सार विभाग र क्यानबीच सम्झौता

  • Technology Khabar | १८ कार्तिक २०८३, बुधबार
वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल बनाउन भन्सार विभाग र क्यानबीच सम्झौता

काठमाडौं ।

हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ।

सम्झौताले हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात तथा निर्यातका क्रममा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रियालाई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग प्रत्यक्ष रूपमा आबद्ध गरी अनलाइन माध्यमबाट सेवा उपलब्ध गराउन सहज हुनेछ।

यसबाट सम्बन्धित व्यवसायी तथा सेवाग्राहीले सिफारिसका लागि विभिन्न निकायमा भौतिक रूपमा धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सम्झौताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीबाट आवश्यक वेब सेवा उपलब्ध गराई भन्सार विभागको प्रणालीसँग सूचना आदानप्रदान तथा एकीकरण गर्नेछ । साथै, सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन, तथ्याङ्कको सुरक्षा तथा प्रणालीको स्थायित्व सुनिश्चित गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

त्यसैगरी, भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणालीमार्फत प्राप्त हुने प्राधिकरणका सिफारिस तथा अनुमतिसम्बन्धी विवरणको उपयोग गरी आयात–निर्यातसम्बन्धी भन्सार प्रक्रिया अघि बढाउनेछ। प्रणालीको प्रभावकारी सञ्चालनका लागि दुवै निकायले आवश्यक प्राविधिक समन्वय र सूचना आदानप्रदानको व्यवस्था गर्ने जनाइएको छ।

सम्झौताबाट विशेषगरी वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यातमा हुने प्रशासनिक ढिलाइ न्यूनीकरण, सेवा प्रवाहमा पारदर्शिता, कागजी प्रक्रियाको कमी तथा सरकारी निकायबीच डिजिटल समन्वय अभिवृद्धि हुने विश्वास गरिएको छ । यसले नेपालको हवाई यातायात क्षेत्रसँग सम्बन्धित व्यापार तथा सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ। रासस

प्रकाशित: १८ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार