काठमाडौं ।
बेलायतले सन् २०२८ सम्ममा आफ्नो महत्त्वपूर्ण पूर्वाधारमा कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेर गरिने साइबर आक्रमणको सामना गर्नुपर्ने सम्भावना रहेको त्यहाँका साइबर सुरक्षा प्रमुखले चेतावनी दिएका छन्।
अपराधी समूह र चीन तथा रुसजस्ता देशले आफ्ना साइबर गतिविधिमा एआईको प्रयोग बढाउँदै लगेका बेला यस्तो चेतावनी आएको हो।
बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) का प्रमुख रिचर्ड होर्नले मंगलबार यस्तो आक्रमणमा र्यानसमवेयरका लागि एआईबाट सञ्चालित मालवेयर प्रयोग हुन सक्ने बताए। उनका अनुसार एआईका कारण लामो समयदेखि बेवास्ता गरिएका प्रविधिगत कमजोरी पत्ता लगाउन र तिनको दुरुपयोग गर्न पहिले कल्पना गर्न नसकिने स्तरमा सम्भव हुनेछ।
एनसीएससीको वार्षिक साइबर सुरक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै होर्नले सबै आकारका व्यवसाय तथा संस्थाका प्रमुखले साइबर सुरक्षामा लगानी नगरेको वा पुरानो प्रविधि अद्यावधिक नगरेको अवस्थामा त्यसको जवाफ दिनुपर्ने बताए।
एपीन्युजका अनुसार प्रविधिमा कम खर्च गरेर काम चलाउँदै आएका संस्थाले साइबर आक्रमणपछि खाद्यान्न पसलका तखतामा नपाइने, बत्ती नबल्ने र व्यवसाय बन्द हुने अवस्थाको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
प्रतिवेदनअनुसार चीनको साइबर गतिविधि बेलायतले सामना गरिरहेको सबैभन्दा जटिल र निरन्तर चुनौती हो। रुस र चीन दुवैले आफ्ना भूराजनीतिक लक्ष्य हासिल गर्न नियमित रूपमा एआई प्रयोग गर्नेछन्।
होर्नका अनुसार रुसले सशस्त्र द्वन्द्वको तहभन्दा तल रहने गरी जानाजानी साइबर अभियान सञ्चालन गरिरहेको छ भने इरानले बेलायतमाथि साइबर आक्रमण गर्नुका साथै आफ्नो शासन व्यवस्थाका लागि खतरा मानिएका व्यक्तिहरूलाई पनि निशाना बनाइरहेको छ।
प्रतिवेदनले राज्य र अपराधी समूहले एआई प्रयोग गर्दा शत्रुतापूर्ण साइबर गतिविधिको मात्रा र प्रभावकारिता बढ्ने उच्च सम्भावना रहेको जनाएको छ। तर एआईले पूर्ण रूपमा नयाँ कमजोरी पत्ता लगाउनुभन्दा पहिले नै प्रयोग भइरहेका आक्रमणका तरिका र प्रविधिलाई अझ प्रभावकारी र व्यापक बनाउन बढी भूमिका खेल्ने प्रतिवेदनमा उल्लेख छ।
गत साता विश्वभरका करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने एउटा प्रोग्रामिङ भाषामा एआईको सहयोगमा सुरक्षा कमजोरी पत्ता लागेपछि सरकार र कम्पनीहरूले तत्काल सुरक्षा अद्यावधिक गर्न काम गरेका थिए।
एआईको सहयोगमा पत्ता लागेका दुई गम्भीर कमजोरीका कारण आक्रमणकारीले प्रमाणीकरणबिना वेबसाइटमा पहुँच पाउन सक्ने अवस्था थियो। सैद्धान्तिक रूपमा यसबाट पासवर्डबिनै वेब सर्भरलाई टाढैबाट नियन्त्रण गर्न सकिने जोखिम थियो।
होर्नका अनुसार प्रविधिले आधुनिक जीवनका लागि आवश्यक भौतिक प्रक्रियाहरू स्वचालित रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा विद्युत् आपूर्ति नियन्त्रण, पानी प्रशोधन केन्द्रका ढोका सञ्चालन, बाँध व्यवस्थापन, उत्पादन लाइन तथा तापक्रम र शीतलन प्रणालीको नियन्त्रण पर्छन्।
फ्रान्सका सुपरमार्केटमा रहेका शीतलन प्रणालीमाथि हालै भएका साइबर आक्रमणले नागरिक पूर्वाधारमा आक्रमणकारीले कति सहजै हस्तक्षेप गर्न सक्छन् भन्ने देखाएको उनले बताए।
बेलायत र यूरोपेली संघका सदस्य राष्ट्रहरूका अनुसार रुसको सुरक्षा निकाय एफएसबीले सन् २०२५ को डिसेम्बरमा पोल्यान्डको ऊर्जा ग्रिडमाथि आक्रमण गरेको थियो। उक्त आक्रमण सफल भएको भए जाडो मौसममा पाँच लाख मानिस विद्युत् सेवाबाट वञ्चित हुन सक्ने थिए।
एनसीएससीका अनुसार बेलायतमा साइबर अपराधका कारण संस्थाहरूले प्रत्येक वर्ष करिब २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्नुपरेको छ।
सन् २०२५ मा कार निर्माता कम्पनी जगुआर ल्यान्ड रोभरले साइबर आक्रमणका कारण २६ करोड अमेरिकी डलरभन्दा बढी प्रत्यक्ष क्षति बेहोरेको थियो। उक्त आक्रमणले कम्पनीका आपूर्तिकर्तालाई समेत प्रभावित पारेको थियो र बेलायतको अर्थतन्त्रमा असर पुर्याएको थियो।
बेलायतको सिग्नल इन्टेलिजेन्स निकाय जीसीएचक्यूकी निर्देशक तथा एनसीएससीको मातृ निकायकी प्रमुख एनी किस्ट-बटलरले सबै बेलायती संस्थालाई तत्काल साइबर सुरक्षा उपाय अपनाउन आग्रह गरेकी छन्।
उनले भनिन्, “हामीलाई बेलायतका हरेक संस्थाले अहिले नै कदम चाल्न आवश्यक छ। आफ्ना ग्राहक, सेवा र जीविकोपार्जनको सुरक्षाका लागि मात्र होइन, साइबर सुरक्षा अहिले हाम्रो राष्ट्रिय सुरक्षाको अग्रपङ्क्तिको रक्षा प्रणाली पनि बनेको छ।”
एनसीएससीले उपकरणमा नियमित रूपमा सुरक्षा अद्यावधिक गर्ने, प्रणालीमा प्रशासकीय पहुँच सीमित गर्ने तथा महत्त्वपूर्ण फाइल र तथ्याङ्कको सुरक्षित प्रतिलिपि राख्नेजस्ता आधारभूत तर प्रभावकारी उपाय अपनाउन संस्थाहरूलाई सुझाव दिएको छ।
प्रकाशित: १८ कार्तिक २०८३, बुधबार