काठमाडौं ।
चालु आर्थिक वर्षको तेस्रो महिना असोज मसान्तसम्म नेपालमा १८ करोड बढीको २० हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा डिजिटल क्यामरा आयात वृद्धि हुँदै गइरहेको पाइएको हो।
असोज मसान्तसम्म समग्रमा १८ करोड २५ लाख ५४ हजार रुपैयाँ बराबरको डिजिटल क्यामरा आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको २० हजार ३७२ थान डिजिटल क्यामरा आयात भएको विवरणमा उल्लेख छ।
यस अवधिमा सरकारले डिजिटल क्यामराको आयातबाट ३ करोड ३७ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा १८ मुलुकबाट डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
यसरी आयात भएका डिजिटल क्यामराहरुलाई हाइ स्पीड, रेडियशन हार्डेन्ड र अन्यमा वर्गीकरण गरिएको छ।
अन्य इलेक्ट्रोनिक्स सामानजस्तै नेपालमा सबैभन्दा धेरै डिजिटल क्यामरा चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट १२ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको १९ हजार ३९५ थान डिजिटल क्यामरा आयात भएको छ।
यसैगरी भारतबाट ७ लाख ६९ हजार रुपैयाँ बराबरको ३३७ थान र जापानबाट १ करोड ५५ लाख १७ हजार मूल्य बराबरको १४४ थान र थाइल्याण्डबाट २ करोड ७२ लाख ९७ हजार बराबरको ३०८ थान डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।
यसबाहेक विश्वका अन्य मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका डिजिटल क्यामराहरु भित्रिएका छन्।
विवरण यस्तो छः
| क्र. सं. | देश | विवरण (थान) | रकम (हजारमा) |
| १ | चीन | १९३९५ | १२१०१६ |
| २ | भारत | ३३७ | ७६९ |
| ३ | अमेरिका | १६ | ९४५० |
| ४ | भेतनाम | ६५ | २३९२ |
| ५ | बेलायत | ४ | ३९४ |
| ६ | ताइवान | २९ | १९८४ |
| ७ | जापान | १४४ | १५५१७ |
| ८ | थाइल्याण्ड | ३०८ | २७२९७ |
| ९ | मलेसिया | ५७ | ९९५ |
| १० | सिङ्गापुर | ५ | ३४३ |
प्रकाशित: १८ कार्तिक २०८३, बुधबार