काठमाडौं ।
महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ अन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्लबले आज पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको जनाएको हो ।
क्लबका अध्यक्ष जेलिना भट्टले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको जानकारी दिइन। उनका अनुसार ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई)लगायत आठ वटा ट्र्याकमा विद्यार्थीले आफ्ना समाधान बनाउने छन् ।
“यस प्रतियोगितामा देशैभरबाट करिब ७० वटा समूहको सहभागिता हुने अनुमान गरेका छौँ”, क्लबका सल्लाहकार दिलिप पन्तले भने, “एउटा समूहमा तीनदेखि चार जनासम्म सहभागी हुनेछन् ।” उनले प्रतियोगितामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई रु एक लाख १५ हजार पुरस्कार प्रदान गरिने जानकारी दिए।
ह्याकाथनमा सुदूरपश्चिम विश्वविद्यालयका साथै विभिन्न क्षेत्रका विद्यार्थीको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी विद्यार्थीले आफ्ना सिर्जनात्मक क्षमता, प्राविधिक ज्ञान र नवीन सोचलाई व्यवहारमा उतार्ने अवसर पाउने आयोजकले जनाएको छ। रासस
प्रकाशित: १६ कार्तिक २०८३, सोमबार