काठमाडौं ।
यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले भविष्यमा सुरु गरिने डिजिटल यूरोलाई आवश्यक पर्ने सञ्चार तथा सुरक्षा पूर्वाधार निर्माण र सञ्चालनका लागि टेलिफोनिका र मिन्साइटलाई जिम्मेवारी दिएको छ।
यी कम्पनीहरूले डिजिटल मुद्रासँग सम्बन्धित सार्वजनिक तथा निजी क्षेत्रका विभिन्न मध्यस्थ संस्थाहरूलाई एकअर्कासँग जोड्ने पूर्वाधार निर्माण गर्नेछन्। यसमा बैंक, फिनटेक कम्पनी र भुक्तानी सेवा प्रदायक (पीएसपी) समावेश हुनेछन्। जारी गरिएको विज्ञप्तिअनुसार यो १० वर्षे सम्झौता सन् २०२७ मे ३ देखि कार्यान्वयनमा आउनेछ।
यसका लागि दुवै कम्पनीले एउटा संयुक्त समूह गठन गरेका छन्। उक्त समूहले ईसीबीका लागि नेटवर्क र त्यससँग सम्बन्धित समाधानहरूको डिजाइन तथा निर्माण गर्नेछ। यसले सञ्चार प्रणालीलाई सुरक्षा सेवासँग एकीकृत गर्नेछ।
विज्ञप्तिमा भनिएको छ, “दुवै कम्पनीले भविष्यको डिजिटल युरोका एप्लिकेसन र सेवाहरूलाई युरोपभरका नागरिक तथा व्यवसायलाई सेवा दिने मध्यस्थ संस्थासँग जोड्ने महत्त्वपूर्ण प्रविधिगत तह निर्माण गर्न सहयोग गर्नेछन्।”
यो प्रस्तावमा सञ्चार, डाटा सेन्टर, साइबर सुरक्षा, सञ्चालन र प्रविधि एकीकरणसम्बन्धी क्षमता समेटिएको छ। यी सबै काम भविष्यको डिजिटल युरो परियोजनाका लागि आवश्यक हुनेछन्। डिजिटल यूरो यूरो क्षेत्रभर स्वीकार गरिने डिजिटल भुक्तानी माध्यम हुनेछ, जसले नगदको विकल्प नभई त्यसलाई पूरकका रूपमा सहयोग गर्नेछ। यसबाट इन्टरनेट जडान नभएको अवस्थामा पनि कारोबार गर्न सकिने व्यवस्था हुनेछ।
टेलिकम्स डटकमका अनुसार यस परियोजनाअन्तर्गत भौतिक पूर्वाधार निर्माण गरी प्रणालीमा सहभागी विभिन्न पक्षलाई जोड्ने तार्किक नेटवर्क संरचना तयार गरिनेछ। सञ्चार पूर्वाधार निर्माण र सञ्चालन गर्ने दुई प्रदायकमध्ये टेलिफोनिका पनि छनोट भएको छ। यसका लागि कम्पनीका विभिन्न व्यावसायिक एकाइ टेलिफोनिका ग्लोबल सोलुसन्स (टीजीएस) र टेलिफोनिका टेकले काम गर्नेछन्।
यसमा एमपीएलएस (मल्टिप्रोटोकल लेबल स्विचिङ) नेटवर्क, भर्चुअल प्राइभेट नेटवर्क र विभिन्न स्थानमा रहेका नेटवर्कलाई जोड्ने एसडी–वान प्रविधि तथा साइबर सुरक्षा सेवाहरू समावेश हुनेछन्।
यता मिन्साइटले एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) मार्फत विभिन्न एप्लिकेसन, प्रणाली र परियोजनामा सहभागी संस्थाहरूलाई जोड्ने तथा एकीकृत गर्ने प्लेटफर्म र सेवा उपलब्ध गराउनेछ। यसले इन्द्रामाइन्ड साइबरसुरक्षामार्फत डिजिटल पहिचानसम्बन्धी समाधान, प्रमाणपत्र र विश्वाससम्बन्धी सेवासमेत उपलब्ध गराउनेछ।
यसका लागि सुरक्षा सञ्चालन केन्द्र (एसओसी) सेवा पनि प्रयोग गरिनेछ। यसले साइबर जोखिम पहिचान, निगरानी तथा नियन्त्रण, परियोजनामा सहभागी संस्थाहरूको पहिचान र पहुँच नियन्त्रण तथा डाटा इन्क्रिप्सनजस्ता काम गर्नेछ।
टेलिफोनिका स्पेनका अध्यक्ष तथा बीटूबीका महानिर्देशक बोर्जा ओचोआले भने, “यो परियोजना नागरिक र व्यवसायका लागि डिजिटल प्रविधिमा पहुँच उपलब्ध गराउने उत्कृष्ट माध्यम बन्ने हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ।”
उनले थपे, “यसले थप डिजिटल, सुरक्षित र आफ्नै नियन्त्रणमा रहेको यूरोप निर्माण गर्ने हाम्रो रणनीतिमा महत्त्वपूर्ण प्रगति गर्नेछ। डिजिटल यूरोका लागि बलियो, भरपर्दो र सुरक्षित सञ्चार पूर्वाधार आवश्यक पर्नेछ। महत्त्वपूर्ण नेटवर्क, कनेक्टिभिटी र साइबर सुरक्षामा हाम्रो व्यापक अनुभवका कारण हामी यसमा महत्त्वपूर्ण योगदान दिन सक्छौँ।”
मिन्साइटका प्रमुख कार्यकारी अधिकृत लुइस फर्नान्डेजले भने, “डिजिटल युरो अहिले यूरोपमा अघि बढाइएका सबैभन्दा परिवर्तनकारी प्रविधि तथा वित्तीय परियोजनामध्ये एक हो। यसलाई सम्भव बनाउने पूर्वाधार निर्माणमा योगदान गर्नु भनेको अझ एकीकृत, सुरक्षित र आफ्नै नियन्त्रणमा रहेको वित्तीय प्रणाली निर्माणका लागि महत्त्वपूर्ण प्रविधिगत प्रणालीमा हाम्रो क्षमता प्रयोग गर्नु हो।”
उनले थपे, “भुक्तानी प्रणाली, डिजिटल पहिचान, साइबर सुरक्षा र प्रविधि एकीकरणमा हाम्रो विशेषज्ञताले सबै सहभागीलाई सुरक्षित रूपमा जोड्न, विश्वास निर्माण गर्न र लाखौँ यूरोपेली नागरिक तथा व्यवसायका लागि यो नयाँ व्यवस्था कार्यान्वयनको नजिक पुर्याउन सहयोग गर्नेछ।”
यस वर्षको सुरुवातमा टेलिफोनिका टेकले संस्थाहरूबीच सहकार्य गर्न आफ्नै नियन्त्रणमा रहने डिजिटल वातावरण उपलब्ध गराउने उद्देश्यसहित एउटा प्रविधि प्लेटफर्म सार्वजनिक गरेको थियो।
यो प्लेटफर्म संस्थाहरूबीच संरचित डाटा आदानप्रदान गर्न र त्यससँग सम्बन्धित सेवाहरू एकीकृत गर्न तयार गरिएको हो। यसमा ड्यासबोर्डमार्फत सूचनाको दृश्यांकन र विश्लेषण गर्ने, रिपोर्ट तयार गर्ने तथा पूर्वानुमान क्षमता र निर्णय प्रक्रियामा सुधार ल्याउन कृत्रिम बुद्धिमता र मेसिन लर्निङ मोडेल प्रयोग गर्नेजस्ता सुविधा समावेश छन्।
प्रकाशित: १७ कार्तिक २०८३, मंगलवार