एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन

  • Technology Khabar | १६ कार्तिक २०८३, सोमबार
एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन

काठमाडौं ।

एन्थ्रोपिकले अब आफ्नो एआई सेवा क्लोड प्रयोगकर्तालाई आफूलाई मनपर्ने विद्यमान भिडियो गेमको नक्कल बनाउन अनुमति नदिने भएको छ। एक्सका एक प्रयोगकर्ताले पहिलो पटक पत्ता लगाएअनुसार एन्थ्रोपिकले क्लोडको कोडमा नयाँ निर्देशन थपेको छ।

नयाँ निर्देशनमा भनिएको छ, “मौलिक गेम, कुनै विधामा आधारित गेम तथा प्रयोगकर्ताकै डिजाइन र सामग्री प्रयोग गरेर गेम बनाउन सकिन्छ। तर नाम परिवर्तन गरेर वा मौलिक गेम भन्दैमा पनि पहिले नै अस्तित्वमा रहेको कुनै विशेष गेमको नक्कल बनाउन पाइने छैन।”

एन्थ्रोपिकका प्राविधिक कर्मचारी एडी ओस्मानीले एक्समार्फत यी परिवर्तनको पुष्टि गरेका छन्। उनले कम्पनीले “अरू कसैको विशेष गेमको नक्कल बनाउनबाट क्लोडलाई टाढा राख्न खोजेको” बताएका छन्। क्लोड प्रयोग गरेर बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्नु कम्पनीको प्रयोग नीतिविपरीत रहेको उनको भनाइ छ।

इन्ग्याजेटका अनुसार ओस्मानीले प्रयोगकर्ताले आफ्नै डिजाइन र सामग्री प्रयोग गरेर बनाउने मौलिक गेम वा कुनै विधामा आधारित गेममा भने यसले असर नगर्ने स्पष्ट पारेका छन्। कम्पनीले उचित सन्तुलन कायम गर्न आवश्यक सुधारहरू जारी राख्ने पनि उनले बताएका छन्।

एआईको सहयोगमा ठूला बजेटका भिडियो गेमलाई डिकम्पाइल गरेर वेब ब्राउजरमै खेल्न मिल्ने बनाउने क्रम बढिरहेका बेला एन्थ्रोपिकले यस्तो परिवर्तन गरेको हो। हालै ‘हेलोः कम्ब्याट इभल्भ्ड’, ‘कल अफ ड्युटीः मोडर्न वारफेयर २’ र ‘ग्रान्ड थेफ्ट अटो भी’ जस्ता गेमका फ्यानहरूले एआईको सहयोगमा तयार पारेका परियोजनाहरू सार्वजनिक भएका थिए।

बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी विवादमा एन्थ्रोपिक यसअघि पनि मुछिएको छ। गत वर्ष आफ्नो एआई मोडेललाई तालिम दिन प्रतिलिपि अधिकार सुरक्षित सामग्री प्रयोग गरेको आरोपमा ५ लाख लेखकले दायर गरेको सामूहिक मुद्दा टुंग्याउन कम्पनी १ अर्ब ५० करोड डलरको कीर्तिमानी क्षतिपूर्ति तिर्न सहमत भएको थियो।

हालै एल्भिस प्रेस्लीको सम्पत्तिको व्यवस्थापन गर्ने संस्थाले पनि यस्तै कारण देखाउँदै एन्थ्रोपिकविरुद्ध मुद्दा दायर गरेको छ।

प्रकाशित: १६ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार