आईओएस २७.२ मार्फत एप्पल कारप्लेमा थपिए दुई नयाँ सुविधा

  • Technology Khabar | १२ कार्तिक २०८३, बिहीबार
आईओएस २७.२ मार्फत एप्पल कारप्लेमा थपिए दुई नयाँ सुविधा

काठमाडौं ।

एप्पलले आईओएस २७.२ सार्वजनिक गर्दै आफ्नो कारप्ले प्रणालीमा पोडकास्ट एप र सिरी एआईसम्बन्धी नयाँ सुविधा थपेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले पोडकास्टका नयाँ एपिसोड खोज्न र पहिलेको कुराकानी सम्झाउन सिरीलाई अनुरोध गर्न सक्नेछन्।

९टूम्याकका अनुसार, नयाँ अपडेटमा एप्पलले पोडकास्ट एपको होम ट्याब पुनः डिजाइन गरेको छ। यसअघि रहेको ‘अप नेक्स्ट’ खण्ड हटाएर त्यसको ठाउँमा ‘न्यु एपिसोड्स’ र ‘कन्टिन्यु प्लेइङ’ खण्ड राखिएको छ।

‘न्यु एपिसोड्स’ मा आफूले सुन्दै आएका कार्यक्रमका नयाँ एपिसोड भेट्न सकिन्छ। त्यस्तै, ‘कन्टिन्यु प्लेइङ’ खण्डबाट पहिले सुन्न छाडेको स्थानदेखि नै पोडकास्टलाई निरन्तरता दिन सकिन्छ।

इन्ग्याजेटका अनुसार अपडेटसँगै कारप्लेमा उपलब्ध सिरी एआईले यसअघिका कुराकानी सम्झन सक्ने सुविधा पनि पाएको छ। उदाहरणका लागि, प्रयोगकर्ताले अघिल्लो पटक सिरीले सिफारिस गरेको क्याफेबारे फेरि जानकारी माग्न सक्नेछन्।

सिरीले अब थप स्रोतबाट जानकारी लिएर विस्तृत जवाफ दिन सक्नेछ। यसका लागि भ्वाइसमेल, सफारी ब्राउजरको हिस्ट्री, रिडिङ लिस्ट, क्यालेन्डरमा भएका कार्यक्रमका सहभागी तथा मेसेजमा संलग्न तस्बिरसमेत प्रयोग गर्न सकिने जनाइएको छ।

आईओएस २७.२मा म्युजिक एपको आइकन पनि परिवर्तन गरिएको छ। यसअघि रातो रङमा रहेको आइकनलाई सामान्य रङ संयोजनमा परिवर्तन गरिएको छ। अब लाइट मोडमा सेतो पृष्ठभूमिमा कालो सङ्गीत चिह्न र डार्क मोडमा कालो पृष्ठभूमिमा सेतो चिह्न देखिन्छ।

यद्यपि, नयाँ अपडेटपछि केही प्रयोगकर्ताले कारको इन्फोटेनमेन्ट प्रणालीमा एप्पल टिभी सुविधा प्रयोग गर्न नसकेको गुनासो गरेका छन्। कारप्लेसम्बन्धी रेडिट समुदायमा सार्वजनिक प्रतिक्रियाअनुसार, अपडेटपछि कारको स्क्रिनमा भिडियो चलाउन प्रयोग हुने उक्त सुविधा काम नगरेको रिपोर्ट गरिएको छ। यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा होइन भन्नेबारे भने स्पष्ट जानकारी छैन।

प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार