काठमाडौं ।
काउब्वाय स्पेसले ८६ मिटर अग्लो बिग आइरन रकेट पहिलो पटक सन् २०२८ को अन्त्यतिर प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। कम्पनीले अन्तरिक्ष क्षेत्रमा ठूलो भूमिका खेल्न कसरी योजना बनाएको छ भन्ने कुरा सार्वजनिक गरेको छ।
रोबिनहुडका सहसंस्थापक बैजु भट्टको नेतृत्वमा रहेको क्यालिफोर्नियास्थित यो कम्पनीले पृथ्वीको तल्लो कक्षमा २० हजार कृत्रिम बुद्धिमतामा आधारित डेटा सेन्टरको समूह सञ्चालन गर्ने योजना बनाएको छ।
कम्पनीले ती उपग्रह आफैँ निर्माण गर्ने र आफ्नै रकेटबाट प्रक्षेपण गर्नेछ। काउब्वाय स्पेसले सोमबार राति (अक्टोबर २६) ‘बिग स्काई राइजिङ’ नामक कार्यक्रममा उक्त रकेट सार्वजनिक गरेको हो।
कार्यक्रममा भट्टले भने, “हाम्रो विचारमा यो आधुनिक युगमा रकेट निर्माण गर्ने बिल्कुलै नयाँ तरिका हो। यसको अवधारणा भनेको दुई चरण भएको रकेट बनाउनु हो, जसको माथिल्लो चरण आफैँ उपग्रहमा परिणत हुन्छ।”
भट्टले सोमबार राति उक्त रकेटको नाम बिग आइरन रहेको बताए। डेटा सेन्टरका रूपमा काम गर्ने उपग्रहको नाम पनि बिग आइरन नै राखिएको छ। रकेट र उपग्रह दुवै एउटै प्रणालीका भाग हुन्।
स्टेनलेस स्टिलबाट निर्माण गरिने यो रकेट ८६ मिटर अग्लो र ४.७ मिटर चौडा हुनेछ। यसमा काउब्वाय स्पेसका क्लाइड्सडेल इन्जिन प्रयोग गरिनेछन्।
रकेटको पहिलो चरणमा नौवटा र माथिल्लो चरणमा एउटा इन्जिन रहनेछ। यो संरचना स्पेसएक्सको फाल्कन ९ रकेटमा प्रयोग गरिएको संरचनाजस्तै हो। स्पेसएक्सको विशाल स्टारसिप रकेटमा प्रयोग हुने र्याप्टर इन्जिनजस्तै क्लाइड्सडेल इन्जिनले पनि तरल अक्सिजन र तरल मिथेनको मिश्रण प्रयोग गर्नेछ। यो इन्धनलाई ‘मेथालक्स’ भनिन्छ।
बिग आइरनको पहिलो चरण पुनः प्रयोग गर्न मिल्ने हुनेछ। ‘बिग स्काई राइजिङ’ कार्यक्रममा भट्टले देखाएको एनिमेसनमा रकेटको पहिलो चरण समुद्रमा रहेको जहाजमा अवतरण गरेको देखाइएको थियो। स्पेसएक्सको फाल्कन ९ रकेटका पहिलो चरण पनि अहिले प्रायः यसैगरी अवतरण गर्छन्।
स्पेस डटकमका अनुसार यसको माथिल्लो चरण भने कक्षमा रहेर बिग आइरन उपग्रहका रूपमा काम गर्नेछ। पृथ्वीमा यसको तौल करिब १५ हजार किलोग्राम हुनेछ। सौर्य प्यानल फैलाएपछि उपग्रहको लम्बाइ १३२ मिटर पुग्नेछ।
प्रक्षेपणका क्रममा उपग्रहलाई सुरक्षित राख्ने पेलोड फेयरिङ पछि रेडिएटरमा परिणत हुनेछ। यसले बिग आइरनमा रहेका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) बाट उत्पन्न हुने ठूलो मात्राको ताप अन्तरिक्षमा फाल्नेछ। प्रत्येक उपग्रहमा जीपीयूका पाँचवटा र्याक रहने भट्टले बताए। ती जीपीयूले करिब एक मेगावाट कम्प्युटिङ क्षमता उपलब्ध गराउनेछन्।
त्यसैले बिग आइरन स्पेसएक्सले निर्माण गर्ने योजनामा रहेको ‘स्टारमाइन्ड’ कृत्रिम बुद्धिमतामा आधारित डाटा सेन्टर उपग्रहभन्दा निकै ठूलो हुनेछ। भट्टले स्पेसएक्सका यस्ता उपग्रहलाई ‘इम्पेरियल क्लास स्याटेलाइट’ भनेका छन्। प्रत्येक स्टारमाइन्ड उपग्रहको सौर्य प्यानल फैलाउँदा चौडाइ ७५ मिटर हुनेछ र यसले करिब २५० किलोवाट कम्प्युटिङ क्षमता उपलब्ध गराउनेछ।
काउब्वाय स्पेसले पृथ्वीको तल्लो कक्षमा करिब २० हजार बिग आइरन उपग्रह सञ्चालन गर्ने योजना बनाएको छ। कम्पनीले यो उपग्रह समूहलाई ‘स्ट्याम्पिड’ नाम दिएको छ। प्रत्येक रकेटले एउटा मात्र उपग्रह कक्षमा पुर्याउने भएकाले स्ट्याम्पिड निर्माण गर्न २० हजार पटक प्रक्षेपण गर्नुपर्नेछ। त्यति नै सङ्ख्यामा उपग्रह कायम राख्न प्रत्येक वर्ष थप केही हजार प्रक्षेपण गर्नुपर्ने सम्भावना छ।
त्यसैले काउब्वाय स्पेसले दिनमा धेरै पटक रकेट प्रक्षेपण गर्ने योजना बनाएको छ। कम्पनीले आफ्ना प्रक्षेपण केन्द्रलाई ‘ट्रेलहेड्स’ नाम दिएको छ। यी केन्द्र कहाँ स्थापना गरिनेछन् भन्ने कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको छैन। तर, भट्टका अनुसार प्रत्येक केन्द्रमा चारवटा सक्रिय प्रक्षेपण स्थल हुने सम्भावना छ।
कम्पनीका सबै प्रक्षेपण स्ट्याम्पिडका लागि मात्र हुने छैनन्। ‘बिग स्काई राइजिङ’ कार्यक्रमको अन्त्यतिर भट्टले बिग आइरनमार्फत ग्राहकका पेलोड पनि अन्तरिक्षमा पुर्याइने घोषणा गरे। काउब्वाय स्पेसले यो सेवालाई ‘बिग आइरन एक्सप्रेस’ नाम दिएको छ।
यो नयाँ रकेटको पहिलो उडान हुन अझै केही वर्ष लाग्नेछ। सन् २०२४ मा ‘एथरफ्लक्स’ नामबाट स्थापना भएको काउब्वाय स्पेसले अहिले पनि आफ्नो क्लाइड्सडेल इन्जिन निर्माण र परीक्षण गरिरहेको छ। कम्पनीले बिग आइरन पहिलो पटक सन् २०२८ को डिसेम्बरमा प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।
भट्टले भने, “त्यसो हुनका लागि धेरै कुरा सही तरिकाले अघि बढ्नुपर्छ। यो सुनिश्चित भइसकेको छैन। मलाई लाग्छ, यो महत्त्वाकाङ्क्षी लक्ष्य हो। तर, लक्ष्य महत्त्वाकाङ्क्षी नभएको भए म उद्यमी बन्ने थिइनँ।”
हाल काउब्वाय स्पेसले अन्तरिक्षमा एउटा मात्र उपकरण सञ्चालन गरिरहेको छ। त्यो ‘रिजन–१’ नामक उपग्रह हो, जसलाई अक्टोबर १ मा स्पेसएक्सको ‘ट्रान्सपोर्टर–१८’ साझा प्रक्षेपण अभियानमार्फत अन्तरिक्षमा पठाइएको थियो।
काउब्वाय स्पेसले सेप्टेम्बर २८ मा एक्समार्फत भनेको थियो, “यसको काम लेजरमार्फत ऊर्जा पठाउने प्रविधिको परीक्षण गर्नु हो। यसमा उच्च शक्तिको लेजर प्रयोग गरेर पृथ्वीको तल्लो कक्षबाट जमिनमा रहेको रिसिभरसम्म ऊर्जा पठाइन्छ। यदि अन्तरिक्षमा डेटा सेन्टर निर्माण गर्ने हो भने कक्ष र पृथ्वीबीचका प्रकाशीय प्रणालीमा दक्षता हासिल गर्नुपर्छ। हाम्रो यात्रा यहीँबाट सुरु हुन्छ।”
प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार