बेलायतले एआई सुरक्षा क्षेत्रमा ८० करोड डलर खर्च गर्ने

  • Technology Khabar | ८ कार्तिक २०८३, आईतवार
बेलायतले एआई सुरक्षा क्षेत्रमा ८० करोड डलर खर्च गर्ने
बिङ्ग डट कममार्फत एमएआई-इमेज-२.५-फ्ल्यासद्वारा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

बेलायत सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने जैविक तथा सुरक्षा जोखिम सामना गर्न करिब ६० करोड पाउन्ड (८० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ।

शनिबार सार्वजनिक गरिएको योजनाअन्तर्गत सबैभन्दा ठूलो रकम जैविक सुरक्षासम्बन्धी नयाँ पहलमा खर्च गरिनेछ। यसअन्तर्गत एआई प्रयोग गरेर जैविक जोखिम पहिचान गर्ने प्रयोगशाला स्थापनाका लागि १० करोड पाउन्ड र रोगजनक जीवाणु तथा भाइरसबाट उत्पन्न जोखिम नियन्त्रणका उपाय विकास गर्न ६ करोड ५० लाख पाउन्ड छुट्याइएको छ।

एआई मन्त्री कनिष्का नारायणले एआई बायोसिक्युरिटी ल्याबलाई विश्वस्तरीय संस्था बनाउने लक्ष्य रहेको बताए। यसले उदीयमान जैविक जोखिमबाट मानिसलाई सुरक्षित राख्न विश्वका अग्रणी वैज्ञानिकहरूको विशेषज्ञता एकै ठाउँमा ल्याउने उनको भनाइ छ।

टेकक्रञ्चका अनुसार प्रविधि कम्पनी ओपनएआई र एन्थ्रोपिकले जैविक सुरक्षा पहलका लागि एआई मोडल प्रयोग गर्न सकिने २० करोड पाउन्डसम्मको क्रेडिट उपलब्ध गराउनेछन्। गुगल डीपमाइन्ड र बेलायतस्थित एआई तथा जीवन विज्ञानसम्बन्धी स्टार्टअप बेसक्याम्प रिसर्चले पनि सहयोग गर्नेछन्।

बेलायतको विद्यमान एआई सुरक्षा संस्थानलाई थप १२ करोड पाउन्ड उपलब्ध गराइनेछ। त्यस्तै, महत्त्वपूर्ण पूर्वाधार र समग्र अर्थतन्त्रको साइबर सुरक्षा बलियो बनाउन राष्ट्रिय साइबर शिल्ड र नेसनल एक्सपोजर एन्ड रियल टाइम भल्नरेबिलिटी सेन्टरसम्बन्धी परियोजनामा १३ करोड पाउन्ड खर्च गरिनेछ।

एआईको प्रयोगबाट रोबोटिक्स, स्वचालित प्रणाली र उत्पादन क्षेत्रमा काम गर्ने बेलायती कम्पनीमा लगानी गर्न ६ करोड पाउन्डको कोष स्थापना गरिनेछ। एआई अनुसन्धान तथा खरिद सम्झौताका लागि थप ६ करोड पाउन्ड र एआईको आर्थिक प्रभावबारे अनुसन्धान गर्न २ करोड ३० लाख पाउन्ड छुट्याइएको छ।

यसैगरी, चिप डिजाइनसम्बन्धी एकेडेमी स्थापनाका लागि १ करोड ८० लाख पाउन्ड, सार्वजनिक नीतिका समस्या समाधान गर्ने एआई प्रणाली विकासका लागि पुरस्कार दिन १ करोड ५० लाख पाउन्ड र स्थानीयस्तरमा एआईसम्बन्धी काम अघि बढाउन क्षेत्रीय मेयरहरूलाई ३ करोड पाउन्ड उपलब्ध गराइनेछ।

बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रलाई म्यानचेस्टरमा आफ्नो क्षमता विस्तार गर्न थप रकम दिइने भए पनि त्यसको परिमाण खुलाइएको छैन।

प्रकाशित: ८ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार