काठमाडौं ।
युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको सरकारले शनिबार जनाएको छ। स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेनको यस्तो भनाइ आएको हो।
रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै आएको छ।
रक्षामन्त्री येभगेनी खमाराले एक विज्ञप्तिमा निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गति सुधार भएको देखाएको बताए। उनका अनुसार, यी प्रणालीमा प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी गति रेकर्ड गरिएको छ र सम्पर्क स्थिर भएको छ।
उनले यो उपलब्धि विशेषगरी अग्रपङ्क्तिमा रहेका सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन तथा सञ्चारका लागि महत्वपूर्ण रहेको बताए।
स्टारलिङ्क सञ्जाल युक्रेन र अमेरिकाबीचको विवादको केन्द्रमा रहँदै आएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार, रुसी क्षेप्यास्त्र आक्रमणबारे किएभलाई पूर्वसूचना नदिनु र स्टारलिङ्कको गति सीमित पार्नुले युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको छ।
रक्षामन्त्री खमाराले यस विषयमा राष्ट्रपति जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसको सकारात्मक नतिजा देखिन थालेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार किएभलाई सञ्चार प्रणालीमा समस्या भइरहेको भए स्पेसएक्सका प्रमुख तथा प्रविधि उद्यमी इलन मस्कसँग कुरा गर्ने बताएका थिए। यसअघि बिहीबार नै ट्रम्पले मस्कले स्टारलिङ्कमा पहुँच पुनःस्थापित गरिसकेको बताएका थिए।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका थिए। यद्यपि, उनले सञ्चार सेवामा आएका अवरोधका लागि स्पेसएक्स जिम्मेवार नभएको र त्यसको जिम्मेवारी अमेरिकी सरकारको भएको दाबी गर्दै आएका छन्। रासस/एएफपी
प्रकाशित: ७ कार्तिक २०८३, शनिबार