एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान

  • Technology Khabar | ६ कार्तिक २०८३, शुक्रबार
एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

जापानले विश्वभर इन्टरनेटमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा देखिएका कमजोरीका कारण साइबर आक्रमणको जोखिम बढेपछि प्रविधि प्रणालीका कमजोरी पत्ता लगाउन कृत्रिम बुद्धिमता प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्ने शुक्रबार जनाएको छ।

व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी सार्वजनिक भएपछि यसै साता विश्वभरका सरकारी तथा कम्पनीका वेबसाइटहरू बन्द भएका थिए।

ती कमजोरी सार्वजनिक भएपछि लाखौँ पटक ह्याकिङ प्रयास भएका थिए। त्यसपछि वेबसाइट सञ्चालकहरूले आफ्ना प्रणाली सुरक्षित गर्न वा अस्थायी रूपमा बन्द गर्न हतारमा कदम चालेका थिए।

यसबाट परेको असरलाई देखाउँदै जापानी मोबाइल सेवा प्रदायक सफ्टबैंकले शुक्रबार मोबाइल प्रयोगकर्ताका लागि आपत्कालीन सूचना प्रणाली अस्थायी रूपमा बन्द गर्ने जनाएको छ।

पीएचपीमा देखिएको सुरक्षा कमजोरी समाधान गर्न प्रणालीको मर्मत भइरहेकाले ग्राहकहरूले भूकम्पको पूर्वसूचना, सुनामीसम्बन्धी चेतावनी तथा विपद् र सुरक्षित स्थानमा जानुपर्ने सूचनाहरू प्राप्त गर्न नसक्ने सफ्टबैंकले जनाएको छ।

जापानका उद्योगमन्त्री रियोसेई अकाजावाले शुक्रबार भने, “आक्रमणकारीले एउटा मात्रै कमजोरीको फाइदा उठाएर आक्रमण सफल बनाउन सक्छन्। त्यसैले हामीले आफ्नो सोच बदल्न र आक्रमणकारीको दृष्टिकोणबाट पनि सोच्न आवश्यक छ।”

उनले भने, “साइबर आक्रमणबाट बचाउने पक्षले पनि कृत्रिम बुद्धिमताको प्रयोग गर्नुपर्छ र एक कदम अगाडि रहेर सक्रिय रूपमा प्रतिक्रिया दिनुपर्छ।”

रोयटर्सका अनुसार यसै साता टोकियोदेखि हेलसिन्कीसम्म बैंकिङ, हवाई सेवा, रेल, कर तथा सरकारी सेवाहरू आपत्कालीन रूपमा बन्द गरिएका थिए। यसले इन्टरनेट सञ्चालनमा सहयोग गर्ने दशकौँ पुराना प्रोग्रामिङ उपकरणहरूको ठूलो परीक्षा लिएको छ।

नोमुरा, मित्सुबिसी यूएफजे फाइनान्सियल ग्रुप, एएनए एयरलाइन्स र इस्ट जापान रेलवे (जेआर इस्ट) लगायतका कम्पनीहरूले आपत्कालीन उपायस्वरूप आफ्ना केही इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरेका थिए।

जापानको अर्थ मन्त्रालय, राष्ट्रिय कर एजेन्सी र मौसम विज्ञान एजेन्सीले पनि आफ्ना केही अनलाइन सेवा बन्द गरेका थिए।

शुक्रबार जेआर इस्टले आफ्नो समूहअन्तर्गतका केही सेवा पुनः सञ्चालनमा आएको र अन्य सेवा सुरक्षित रहेको पुष्टि भएपछि मात्रै सञ्चालनमा ल्याइने जनाएको छ। निप्पोन पेन्टले भने सावधानीका रूपमा सुरक्षा प्याच लागू गरेपछि आफ्नो वेबसाइट पुनः सञ्चालनमा आएको जनाएको छ।

ट्रेन्ड माइक्रोका प्रमुख कार्यकारी अधिकृत इभा चेनका अनुसार जापानी कम्पनीहरूका विस्तृत अभिलेखका कारण आक्रमणकारीहरूले उनीहरूलाई लक्षित गरिरहेको हुन सक्छ। कृत्रिम बुद्धिमताका कारण अब भाषाको अवरोधले त्यस्ता अभिलेखलाई सुरक्षित राख्न नसक्ने अवस्था आएको उनले बताइन्।

उनका अनुसार जापानले आफ्नो विद्यमान प्रविधि पूर्वाधारलाई पर्याप्त सुरक्षित ठानेर त्यसप्रति बढी ढुक्क हुने गल्ती गरेको छ।

साइबर सुरक्षा विज्ञहरूका अनुसार कृत्रिम बुद्धिमताले आक्रमणकारीहरूलाई सफ्टवेयरका कमजोरी पत्ता लगाउनेदेखि नक्कली सन्देशमार्फत प्रयोगकर्तालाई झुक्याउने अभियान तयार पार्नेसम्मका काम स्वचालित बनाउन सहयोग गरिरहेको छ। यसले साइबर अपराधलाई छिटो, सस्तो र पत्ता लगाउन कठिन बनाएको छ।

एचटीएमएल र पाइथनजस्तै पीएचपी पनि कम्प्युटिङमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसका विकासकर्ताहरूले वर्षौँदेखि सफ्टवेयरमा रहेका तर कृत्रिम बुद्धिमताको प्रयोगबाट हालै पत्ता लागेका सुरक्षा कमजोरी समाधान गर्न बुधबार अद्यावधिक संस्करण सार्वजनिक गरेका थिए। उनीहरूले प्रयोगकर्तालाई तत्काल आफ्नो सफ्टवेयर अद्यावधिक गर्न आग्रह गरेका छन्।

प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार