काठमाडौं ।
बेलायतको राजधानी लन्डनमा फाइभजी क्षमताको विस्तार गर्न कठिनाइ हुँदा मोबाइल इन्टरनेटको औसत डाउनलोड गति यूरोपका अन्य राजधानीको तुलनामा सबैभन्दा कम रहेको छ।
बेलायतको आर्थिक गतिविधिको प्रमुख केन्द्रका रूपमा रहेको लन्डनले लामो समयदेखि मोबाइल डाटाको उच्च माग धान्न संघर्ष गर्दै आएको छ। फोरजी प्रविधिको अन्तिम चरणमा मोबाइल डाउनलोड र अपलोडको औसत गतिका आधारमा लन्डन लगातार १८ यूरोपेली राजधानीमध्ये सबैभन्दा पछाडि थियो।
त्यसपछि फाइभजी प्रविधि चाँडै अपनाउनु र महामारीका कारण यात्रुहरूको आवतजावत घट्नुजस्ता कारणले सन् २०२१ को मध्यसम्ममा लन्डन सातौँ स्थानमा पुगेको थियो।
तर, नेटवर्कसम्बन्धी विश्लेषण गर्ने कम्पनी ओक्लाको नयाँ प्रतिवेदनअनुसार त्यसयता लन्डनको अवस्था खासै सुधार भएको छैन। यस अवधिमा यूरोपका अन्य राजधानीले फेरि लन्डनलाई उछिनेका छन्।
केही विरोधाभासपूर्ण रूपमा, मोबाइल ब्रोडब्यान्डको गति फेरि सबैभन्दा कम हुने अवस्थासँगै फाइभजी प्रयोग गर्ने मानिसको अनुपात भने उल्लेख्य रूपमा बढेको छ। कामकाजी दिनमा मध्य लन्डनमा मानिसको संख्या पनि धेरै हुने भएकाले मोबाइल नेटवर्कमा थप दबाब परेको छ।
टेलिकम्स डटकमका अनुसार यसका कारण मोबाइल डाउनलोडको औसत गति सन् २०२१ को दोस्रो त्रैमासिकमा २०० एमबीपीएस रहेकामा सन् २०२६ को तेस्रो त्रैमासिकमा घटेर १३३ एमबीपीएसमा झरेको छ। कामकाजी दिनको डाउनलोड गति सप्ताहान्तको तुलनामा २७ प्रतिशत कम छ।
यसको मुख्य कारण नेटवर्क क्षमतासँग सम्बन्धित छ। फाइभजी सेवाको माग बढ्दै जाँदा लन्डनले अन्य यूरोपेली राजधानीको तुलनामा नेटवर्क क्षमता विस्तार गर्न सकेको छैन।
यद्यपि लन्डनमा दूरसञ्चार सेवा प्रदायकहरूलाई नेटवर्क विस्तार गर्न केही कठिनाइ छन्। उनीहरूले आफ्ना रेडियो उपकरण जडान गरिएका धेरै स्थानको स्वामित्व आफैँसँग राख्दैनन्।
साथै इलेक्ट्रोनिक कम्युनिकेसन्स कोडमा गरिएको सुधारले उनीहरूलाई आवश्यक पर्ने भवनका मालिकहरूलाई आफ्ना भवनमा दूरसञ्चार उपकरण राख्न दिन निरुत्साहित गरेको देखिन्छ।
तर, विभिन्न सेवा प्रदायकको अवस्थाबीच केही भिन्नता छ। ओटूले सबैभन्दा कम औसत डाउनलोड गति उपलब्ध गराउनुका साथै नेटवर्कमा व्यस्तता बढ्दा यसको गति सबैभन्दा धेरै घट्ने गरेको छ।
यसले लन्डनमा ओटूका नेटवर्क साइट सबैभन्दा कम रहेको र त्यहाँका बासिन्दामाझ यो सेवा प्रदायक सबैभन्दा कम रोजाइमा पर्ने गरेको संकेत गर्छ।
ओक्लाले यो प्रतिवेदन लन्डनको मोबाइल कनेक्टिभिटी सुधार गर्न ग्रेटर लन्डन अथोरिटीसँग मिलेर तयार पारेको संयुक्त प्रतिवेदनमा आधारित रहेको जनाएको छ। उक्त प्रतिवेदनबारे गत साता रिपोर्ट गरिएको थियो।
प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार