तोशिबाले नेटवर्क सुरक्षाका लागि सार्वजनिक गर्यो क्वान्टम प्रविधिमा आधारित प्लेटफर्म

  • Technology Khabar | ६ कार्तिक २०८३, शुक्रबार
तोशिबाले नेटवर्क सुरक्षाका लागि सार्वजनिक गर्यो क्वान्टम प्रविधिमा आधारित प्लेटफर्म

काठमाडौं ।

तोशिबाले क्वान्टम प्रविधिबाट हुन सक्ने साइबर आक्रमणबाट नेटवर्क सुरक्षित राख्न क्वान्टम-सेफ नेटवर्किङ (क्यूएसएन) प्लेटफर्म सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यसले क्वान्टम-सुरक्षित नेटवर्क विस्तार गर्न, आवश्यकताअनुसार परिवर्तन गर्न र सञ्चालनलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ।

यो प्लेटफर्म इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक, डाटा सेन्टर सञ्चालक, निजी कम्पनी र सरकारी निकायलाई लक्षित गरी तयार गरिएको हो। यसले सुरुमा महत्त्वपूर्ण डाटा प्रवाह हुने नेटवर्क सुरक्षित राख्न र पछि अन्य स्थान तथा नेटवर्कमा सुरक्षा विस्तार गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ। यसका लागि हाल सञ्चालनमा रहेका नेटवर्क संरचना नै पुनर्निर्माण गर्नुपर्ने छैन।

सेवा प्रदायकले यो प्रविधिको प्रयोग गरेर फरक प्रकृतिका क्वान्टम-सुरक्षित सेवा उपलब्ध गराउन र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सक्ने तोशिबाले जनाएको छ।

टेलिकम्स डटकमका अनुसार क्वान्टम कम्प्युटरको विकाससँगै अहिले प्रयोग भइरहेका धेरै इन्क्रिप्सन प्रविधि असुरक्षित हुन सक्ने जोखिम बढेको छ। ‘अहिले डाटा संकलन गर्ने र भविष्यमा डिक्रिप्ट गरेर पढ्ने’ (हार्भेस्ट नाउ, डिक्रिप्ट लेटर) प्रकारका साइबर आक्रमण पनि जोखिमका रूपमा देखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसअघि सीमित क्षेत्रमा गरिएका परीक्षण र व्यावसायिक प्रयोगले यो प्रविधिबाट महत्त्वपूर्ण नेटवर्क सम्पर्क सुरक्षित राख्न सकिने देखाएका छन्। अब उद्योगले कम खर्च र जटिलतामा धेरै स्थान तथा नेटवर्कमा यस्तो सुरक्षा विस्तार गर्नुपर्ने आवश्यकता रहेको कम्पनीको भनाइ छ।

तोशिबाको नयाँ प्लेटफर्मले उपकरणको संख्या, सञ्चालनको जटिलता र खर्च घटाउने लक्ष्य राखेको छ। यसमा प्रयोग हुने ट्रान्ससिभरले एउटै उपकरणमा डाटा पठाउने र प्राप्त गर्ने दुवै काम गर्छ।

त्यस्तै, यसको हबले अप्टिकल स्विचिङ प्रविधिमार्फत धेरै स्थानका नेटवर्क जोड्न सक्छ। यसले परम्परागत रूपमा प्रत्येक दुई स्थानबीच छुट्टाछुट्टै उपकरण प्रयोग गर्नुपर्ने आवश्यकता घटाउने कम्पनीको दाबी छ।

क्यूएसएन प्लेटफर्ममा पोस्ट-क्वान्टम क्रिप्टोग्राफी (पीक्यूसी), क्वान्टम की डिस्ट्रिब्युसन (क्यूक्यूडी) र क्वान्टम र्‍यान्डम नम्बर जेनेरेसन (क्यूआरएनजी) लगायतका प्रविधि समावेश छन्।

यी प्रविधिले भविष्यमा विकसित हुन सक्ने शक्तिशाली कम्प्युटिङ आक्रमणबाट डाटा सुरक्षित राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यस्ता प्रविधिले परम्परागत इन्क्रिप्सन प्रणालीमा देखिने जोखिम कम गर्न पनि मद्दत गर्नेछन्।

तोशिबाका सूचना तथा सञ्चार प्रविधि समाधान विभागका उपाध्यक्ष हिरोशी सुकिनोले क्वान्टम-सुरक्षित प्रविधिमा रूपान्तरणलाई क्रिप्टोग्राफीको इतिहासकै ठूलो परिवर्तनका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्तो परिवर्तन एकैपटक सम्भव नहुने भएकाले संस्थाहरूले अहिले नै आफ्ना महत्त्वपूर्ण नेटवर्क र डाटा सुरक्षित गर्न सुरु गर्नुपर्छ।

साथै, भविष्यमा साइबर जोखिम, नयाँ मापदण्ड र सञ्चालनसम्बन्धी आवश्यकता परिवर्तन हुँदा सुरक्षा विस्तार गर्न सकिने योजना पनि आवश्यक रहेको उनले बताएका छन्।

तोशिबा युरोपका उपाध्यक्ष तथा क्वान्टम प्रविधि विभागका प्रमुख एन्ड्र्यु सिल्ड्सले यो प्लेटफर्मले ठूलो नेटवर्कमा क्वान्टम-सुरक्षा विस्तार गर्दा लाग्ने खर्च र जटिलता घटाउने बताएका छन्। उनका अनुसार एउटै उपकरणबाट धेरै ग्राहक र नेटवर्क बिन्दुलाई सेवा दिन सकिने भएकाले प्रत्येक नेटवर्क सम्पर्कका लागि छुट्टै उपकरण राख्नुपर्ने आवश्यकता कम हुनेछ।

तोशिबाले गत वर्ष ओरेन्ज बिजनेससँग सहकार्य गरी पेरिसमा क्वान्टम-सुरक्षित नेटवर्किङ सेवा सुरु गरेको थियो। ओरेन्ज क्वान्टम डिफेन्डर नाम दिइएको उक्त सेवा तोशिबाको क्वान्टम की डिस्ट्रिब्युसन प्रविधि प्रयोग गरेर ओरेन्जको विद्यमान व्यावसायिक फाइबर नेटवर्कमार्फत उपलब्ध गराइएको थियो।

उक्त सेवामा हार्डवेयरमा आधारित क्वान्टम की डिस्ट्रिब्युसन र सफ्टवेयरमा आधारित पोस्ट-क्वान्टम क्रिप्टोग्राफीलाई संयुक्त रूपमा प्रयोग गरिएको छ। यसले संवेदनशील डाटा सुरक्षित राख्नुका साथै भविष्यमा पनि डाटाको गोपनीयता कायम राख्ने उद्देश्य राखेको कम्पनीहरूले बताएका थिए।

प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार